
अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ ।
ईस्लामिक स्टेट (आईएस)विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ ।
अमेरिकी रक्षा सचिवको निर्देशन अनुसार, अब ती सैनिकहरूलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया शुरू गरिएको पेन्टागनका प्रवक्ता सीन पार्नेलले जानकारी दिए ।
उनका अनुसार यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ ।
यद्यपि, अमेरिकाले आईएस विरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले जनाए ।
आईएसले सन् २०१४ मा आक्रामक गतिविधि शुरू गरेपछि अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पुर्याउँदै आतंकवादी समूहविरुद्ध अभियान थालिएको थियो ।
यस अभियानका क्रममा अमेरिकी सेनाहरूले प्रत्यक्ष रूपमा लडाईमा सहभागिता जनाएका थिए भने हजारौं सैनिक तथा कर्मचारीहरूलाई सहयोगका लागि खटाइएको थियो ।
इराकी प्रधानमन्त्रीले सन् २०१७ को डिसेम्बरमा आईएसमाथि विजयको घोषणा गरेका थिए भने सिरियामा सन् २०१९ को मार्चमा सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ)ले आइएसको गढ कब्जा गरेपछि पराजयको घोषणा गरिएको थियो ।
तर पनि अहिले केही ग्रामीण क्षेत्रहरूमा आईएसका लडाकुहरू सक्रिय रहेका कारण अमेरिकी सेनाले समय–समयमा आवश्यक कारबाही जारी राखिरहेको छ ।