
बाल्यकालमा आदिकवि भानुभक्त आचार्य भोर्लेटारस्थित मामाकोघर जाँदा घाँसीकुवाले बनाएको व्यास नगरपालिका- ७ सत्रसयमा पर्ने घाँसीकुवा संरक्षणका लागि आज ‘भानु-घाँसीकुवा क्षेत्र विकास प्रतिष्ठान’ गठन गरिएको छ ।
व्यास- ७ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा गठित समितिको अध्यक्षमा रत्नमाया थापामगर रहेकी छिन् ।
प्रतिष्ठानको उपाध्यक्षमा टीकाराम श्रेष्ठ, सचिवमा टेकबहादुर सुनार, सहसचिवमा पूर्ण विके, सदस्यहरूमा सन्तबहादुर रानामगर, धनमाया श्रेष्ठ, कोपिला थापा र मीना परियार रहेका छन् ।
ओझेलमा परेको घाँसीकुवाको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि विभिन्न निकायसँग हातेमालो गर्दै अघि बढ्न आफूहरूले घाँसीकुवा क्षेत्र विकास प्रतिष्ठान गठन गरेको नवनिर्वाचित अध्यक्ष थापामगरले बताइन् ।
लमजुङको मध्यनेपाल नगरपालिकाले भानुभक्त संवाद चौतारी भनेर प्रचारप्रसार गरे पनि संस्था नहुँदा उक्त घाँसीकुवाको विकासमा आफूहरू अग्रसर हुन नसकेको उनको भनाइ छ ।
भानुभक्त र घाँसीकुवाको कथालाई प्रेरणाको रूपमा सबैतिर लिने चलन रहेको व्यास- ७ का वडाध्यक्ष न्यौपानेले बताए ।
भानुभक्त मामाघरमा जाँदा व्यास- ७ साँखुलीका खड्गबहादुर मगरले सत्रसयमा खनेको घाँसीकुवाको प्रचारप्रसारका लागि स्थानीयको अभियानमा आफूहरूको साथ रहने उनले बताए ।