२५ जेठ २०८३, सोमबार
सडकमा ओर्लिँदै राप्रपा

आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र नतोड्न गृह मन्त्रालयको चेतावनी

बैशाख ७, २०८२
काठमाडौं
आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र नतोड्न गृह मन्त्रालयको चेतावनी
केही दिन पहिले राप्रपाले बल्खुमा गरेको खबरदारी सभाका सहभागीहरू । फाइल तस्वीर ।

राजसंस्था पुनर्स्थापना र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आझ आइतबार काठमाडौं प्रदर्शन गर्दैछ । राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । 

वैशाख ४ गते बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गर्दै वैशाख ७ गते (आइतबार) निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय राप्रपाको छ । 

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने राप्रपाको माग छ ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ पनि राप्रपाको प्रदर्शनमा सहभागी हुने भएको छ। 

कार्यवाहक संयोजक डा.जगमान गुरुङले विज्ञप्ति जारी गर्दै राप्रपाको आइतबारको प्रदर्शनमा सहभागी हुने जानकारी दिएका छन् । 

‘संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य एवं सुशासनको पक्षमा क्रियाशील रहेर २०८२ वैशाख ७ गतेदेखि राप्रपा लगायत सबै देशभक्त, राष्ट्रवादी दल, समूह, अभियानहरूबाट आयोजना हुने कार्यक्रमहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग रहने छ’, उनले भनेका छन् । 

गृह मन्त्रालयले भने राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ । 

साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । 

यता, प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत भेटेका छन् । 

शुक्रबार बिहान ११:५० देखि झन्डै २ बजेसम्म चलेको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जना नेताहरू सहभागी थिए । 

भेटमा राप्रपा नेताहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे र ज्ञानेन्द्र शाही बैठकमा सहभागी भएका जनाइएको छ ।

ज्ञानेन्द्रले राजसंस्था पक्षधर सबैलाई मिलाएर लैजान लिङ्देनलाई आग्रह गरेका थिए । 

नयाँ वर्षको शुभकामनाको बहानामा ज्ञानेन्द्रले निर्मल निवासमा राप्रपाका ७ जना नेतालाई  ‘लन्च मिटिङ’मा बोलाएर राजसंस्था पुनर्स्थापनाको आन्दोलनको नेतृत्व राप्रपाले नै गर्नुपर्ने बताएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्