०९ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

राप्रपामार्फत ज्ञानेन्द्रको दुई सन्देश, गणतन्त्र पक्षधर एकजुट हुने तीन दलबीच सहमति

बैशाख ७, २०८२
काठमाडौं
राप्रपामार्फत ज्ञानेन्द्रको दुई सन्देश, गणतन्त्र पक्षधर एकजुट हुने तीन दलबीच सहमति

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

राजसंस्था पुनस्र्थापनाका लागि राप्रपाले काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका शीर्ष नेताहरूसँग भेटवार्ता गरेर दुई वटा सन्देश दिएका छन् । 

नयाँ वर्षको शुभकामनाको बहानामा ज्ञानेन्द्रले शुक्रबार निर्मल निवासमा राप्रपाका ७ जना नेतालाई  ‘लन्च मिटिङ’मा बोलाएर राजसंस्था पुनस्र्थापनाको आन्दोलनको नेतृत्व राप्रपाले नै गर्नुपर्ने बताएका हुन् । तर, उनले त्यसलाई आन्दोलन नभई ‘जनताको भावना’को नेतृत्व गर्नुपर्ने शब्दावली प्रयोग गरेका थिए । राप्रपाले आइतबार काठमाडौँमा प्रदर्शन गर्दैछ । 

ज्ञानेन्द्र शाहले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनस्र्थापनाका संयुक्त जनआन्दोलन समितिको गठनप्रति अनविज्ञता प्रकट गरेका छन् । साथै उनले तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईँलाई आफूले जनकमान्डर नतोकेको समेत उनले दाबी गरेका थिए । 

तीनकुने घटनामा मान्छे मरेको प्रति शाहले चिन्ता व्यक्त गरेपछि राप्रपा नेताहरूले नवराज सुवेदी संयोजकत्वको समितिबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा शाहले आफ्नो निर्देशनमा नभएको बताए ।

००००

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गणतन्त्र पक्षधर शक्ति एकजुन हुने सहमति भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार साँझ बसेको बैठकले विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि एक हुने निर्णय गरेको हो ।

आजको बैठकमा अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचैनमा खलल र्पुयाउनेप्रति सचेत हुँदै अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले जानकारी दिए।

००००

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछा मार्ने दुस्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताएका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाद्वारा शनिबार काठमाडौंको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए ।

००००

बैङ्क तथा वित्तीय संस्थाहरूले शेयर धितो राखेर कर्जा दिने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्क तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जा लगानी बढाउँदै लगेका हुन् ।

चालू आर्थिक वर्षको शुरूआतदेखि शेयर बजारमा आएको वृद्धि, न्यून ब्याजदर र संस्थागततर्फको सीमा खुल्ला भएसँगै बैङ्कहरूले शेयर धितो कर्जातर्फको लगानी बढाएका हुन् ।

फागुन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूबाट १ खर्ब १८ अर्ब ५० करोड १० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ ।

००००

प्रेम प्रस्ताव अस्वीकार गर्दा बुटवलमा शनिबार बिहानै एक युवतीमाथि गोली प्रहार भएको छ ।

 रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा सामान्य खाजा घर सञ्चालन गर्दै आइरहेकी टीका विष्ट क्षेत्रीलाई सितारे आलम भन्ने युवकले गोली प्रहार गरेका हुन् । उनीहरू केही समय अगाडि मात्रै चिनजान भएको खुलेको छ ।

००००

आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल रद्द भएको छ।

शनिबारको निर्णायक खेल वर्षाका कारण रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । खेल हुन नसकेपछि दुवै टिमले समान अंक बाँडेका छन् ।

००००

नेकपा एकीकृत समाजवादीकी नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनप्रति कडा टिप्पणी गरेकी छन् ।

उनले भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाइएको भन्दै शिक्षक आन्दोलनप्रति रोषक प्रकट गरेकी छन् । उनले मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौं भन्ने लागेर शिक्षक, सरकार र संसद्को बीचमा समन्वय र संवाद गराउनु र्पयो भनेर धेरै कोणबाट प्रयास गरे पनि शिक्षकहरू संवाद गर्न तयार नरहेको टिप्पणी गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्