
विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको रिटमा आज आइतबार पनि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राथमिकता दिएको यस मुद्दामा आइतबार सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले बुधबार सुनुवाइ गर्दै आइतबारका लागि हेर्दाहेर्दैमा राखेको थियो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ हुँदै आएको छ ।
२०७७ मंसिर ३० गते र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी सिफारिस गरेका थिए ।
त्यसपछि संसद् विघटन हुँदा उनीहरू संसदीय सुनुवाइविनै नियुक्त भएका थिए ।
संसदीय सुनुवाइ प्रक्रिया छलेर पदाधिकारी नियुक्त गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।