
देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ परेका छन् ।
मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ पीपलबोटबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौंडा- ४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्की र मोरङको विराटनगर महानगरपालिका- १५ बैंक रोडबाट सुन्दरहरैँचा नगरपालिका- २ बस्ने ३१ वर्षीय सरन डाँगी पक्राउ परेका लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका- २६ सिसुवारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल र गाँजा जस्तो देखिने पदार्थसहित भरतपुर- २६ बस्ने ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।
त्यस्तै, कैलालीको कैलारी गाउँपालिका- १ सडकपुरबाट कैलारी- ८ दुधिया बस्ने २५ वर्षीय सञ्जुकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका- १ हनुमानथानबाट डडेल्धुरा गन्यापधुरा गाउँपालिका- ३ सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र ३५ वर्षीय रोहित शाही, भीमदत्त नगरपालिका- ११ गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिका- ११ बस्ने २५ वर्षीय रामबहादुर विष्ट पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
स्थायी प्रहरी पोष्ट गोठीकाँडाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १४ कटुकाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- १४ बस्ने २१ वर्षीय अनिश नेपाली पक्राउ परेका हुन् ।
सङ्खुवासभाको धर्मदेवी नगरपालिका- ४ तिरतिरे बस्ने २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका- ६ पुलुङ बस्ने ३८ वर्षीय देवेन्द्र थापालाई अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।