०८ साउन २०८३, शुक्रबार
संसद्लाई छल्दै शीर्ष नेता

एक तिहाइ बैठकमै सहभागी नभई सांसदहरूले लिए पूरै तलब भत्ता, देउवा र प्रचण्डको उपस्थिति दयनीय

बैशाख ७, २०८२
काठमाडौं
एक तिहाइ बैठकमै सहभागी नभई सांसदहरूले लिए पूरै तलब भत्ता, देउवा र प्रचण्डको उपस्थिति दयनीय

मुलुकमा पारदर्शिता र जवाफदेहिताको बहस भइरहेको समयमा प्रमुख दलका शीर्ष नेताहरूले जनप्रतिनिधिमूलक थलो संसद्लाई हदैसम्म उपेक्षा गर्ने गरेको पाइएको छ । शीर्ष मात्र नभई दलका दोस्रो तहका प्रभावशाली नेताहरूले समेत संसद् बैठकलाई महत्त्व नदिएको देखिएको छ । 

साना दलका नेता र प्रमुख दलका ‘जुनियर सांसद’हरू भने संसद्को बैठकमा अलि धेरै उपस्थित हुने गरेको पाइएको छ । उनीहरूले नै संसद् बैठकको कोरम पुर्‍याइदिने गरेको संघीय संसद् सचिवालयले लोकान्तर डट्कमलाई उपलब्ध गराएको विवरणमा देखिन्छ । 

गत २०८१ माघ १८ गते शुरू भई चैत्र १९ गते समापन भएको संसद्को हिउँदे अधिवेशन अवधिमा २५ दिनमा २७ बैठक बसेका थिए । 

संसदको विधेयक अधिवेशन भनेर चिनिने यो अधिवेशनमा १ सय १८ घण्टा २१ मिनेट संसदीय काम कारबाहीमा व्यतीत भएको थियो । हिउँदे अधिवेशनबाट मात्र ५ वटा विधेयक पारित भएका छन् । संसदको यही अधिवेशनले विद्यालय शिक्षालगायत विधेयक टुंगो लगाउन नसक्दा शिक्षकहरू सडक आन्दोलनमा छन् । 

कानून निर्माण गर्ने महत्त्वपूर्ण अधिवेशनमा प्रमुख दलका शीर्ष नेताले संसदलाई उपेक्षा गरेको संसद् सचिवालयले लोकान्तर डट्कमलाई उपलब्ध गराएको हाजिरी विवरणमा उल्लेख छ । 

संसदले क्यालेन्डर बनाएका कारण प्रतिनिधि सभाको बैठक कहिले बस्छ भन्ने पूर्व जानकारी हुने भएपनि शीर्ष नेताहरूले संसदलाई कम महत्त्व दिने गरेको पाइएको छ । 

देउवा २७ मध्ये ५ बैठकमा मात्र उपस्थित

प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवा हिउँदे अधिवेशनमा जम्मा ५ वटा बैठकमा मात्र उपस्थित भएका छन् । उनी माघ र फागुन महिनामा २–२ तथा चैत्र महिनामा एउटा बैठकमा मात्र उपस्थित भएका थिए । संसद्को कानून न्याय तथा मानव अधिकार समितिमा रहेका देउवा कहिलेकाहीँ मात्र बैठकमा उपस्थित हुने गरेका छन् । 

पढ्नुहोस् यो पनि :

EXCLUSIVE : महिनामा एकदिन पनि हाजिर नभई देउवा, माधव, स्वर्णिमसहित ३७ सांसदले पचाए तलब

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने पार्टीको सभापति देउवा काठमाडौं उपत्यकामा रहेको बेला समेत संसदमा अनुपस्थित रहने गरेका हुन् । लगातार १० बैठकमा अनुपस्थित भएमा सांसद पद धरापमा पर्ने भएकाले देउवाले अधिवेशनको अन्तिम दिन संसदमा बिदा स्वीकृत गराएका थिए । 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको उपस्थिति पनि कमजोर देखिएको छ । महामन्त्री थापा २७ मध्ये १२ वटा बैठकमा उपस्थित भएको संसद सचिवालयले उपलब्ध गराएको विवरणमा देखिन्छ । अर्का महामन्त्री शर्मा १४ बैठकमा उपस्थित थिए । महामन्त्री थापा यो बीचमा पार्टी कामले देशदौडाहामा लागेकाले संसदमा उपस्थिति कमजोर देखिएको कांग्रेसका एक सांसद बताउँछन् । महामन्त्रीद्वयले संसदको विशेष समयमा महत्त्वपूर्ण विषयमा आफ्ना धारणा राखेका थिए । 

प्रतिपक्षी दलको नेता ८ दिन मात्र 

माओवादी केन्द्रका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति पनि कमजोर देखिएको छ । सरकारलाई उत्तरदायी र जवाफदेही बनाउने भूमिकामा रहेको प्रतिपक्षी दलका नेता प्रचण्ड २७ मध्ये ८ वटा बैठकमा मात्र उपस्थित भएका हुन् । 

प्रचण्ड माघ महिनामा २ तथा फागुन र चैत्र महिनामा ३/३ दिनको बैठकमा उपस्थित भएका छन् । तराई–मधेशको हुलाकी राजमार्गकेन्द्रित अभियानमा सहभागी हुन काठमाडौंबाहिर रहेकाले प्रचण्ड संसद्को बैठकमा कम उपस्थित रहेको माओवादी नेताहरू बताउँछन् ।

विगत अधिवेशनमा पनि प्रचण्डको उपस्थिति पातलो थियो । विपक्षी दलको नेताले संसदबाट सवारी साधन र इन्धनलगायत सुविधा पाउने गरेका छन् । संसद्को हिउँदे अधिवेशनमा प्रचण्डले सभामुखसँग समय लिएर एकपटक सम्बोधन गरेका थिए ।  

प्रधानमन्त्री ओली ७ बैठकमा उपस्थित

प्रधानमन्त्री केपी शर्मा ओली २७ मध्ये ७ बैठकमा उपस्थित भएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष ओली ७ बैठकमा उपस्थित भएका हुन् । प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि संसदमा एकजना मन्त्री उपस्थित हुनुपर्ने भएपनि प्रधानमन्त्री र मन्त्रीहरू संसद्मा उपस्थित हुनै पर्ने बाध्यता नियमावलीमा छैन । 

फागुन महिनामा ५२ जना सांसद १२ वटै बैठकमा सहभागी भएका छन् । तर, यी सबै अघिल्लो महिनामा पूरै बैठकमा उपस्थित भएका छैनन् ।

हिउँदे अधिवेशनमा ओली दुईपटक सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भए भने बिमस्टेक सम्मेलनमा सहभागी हुन थाइल्यान्ड जानुअघि संसद् बैठकलाई सम्बोधन पनि गरेका थिए । 

धेरै उपस्थित हुनेमा रामहरि, चित्रबहादुरलगायत

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापति समेत रहेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालगायत केही सांसद संसद्का सबै बैठकमा उपस्थित भएका छन् । 

खतिवडाले अधिवेशन अन्त्यको दिन सांसदको हाजिरी स्वीकृत गर्ने मात्र नभई सबै बैठकमा उपस्थित हुने सांसदको नाम सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन् ।  खतिवडा २७ वटै बैठकमा उपस्थित भएका छन् । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी २६ वटा बैठकमा उपस्थित भएको सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

दलका शीर्ष नेतामध्ये रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेका कारण उनी हिउँदे अधिवेशनमा एक दिन पनि उपस्थित हुन पाएनन् । अधिवेशन सकिएपछि उनी कारागार चलान भइसकेका छन् । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन २७ मध्ये १८ वटा बैठकमा सहभागी भएका छन् ।  नेकपा एसका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल २१ वटा बैठकमा उपस्थित भएका छन् । 

जसपा अध्यक्ष उपेन्द्र यादव १७ वटा बैठकमा उपस्थित भएका छन् भने नयाँ दल जनमत पार्टीका अध्यक्ष सीके राउत ६ वटा बैठकमा मात्र उपस्थित भएका छन् । शीर्ष नेतामध्ये कम उपस्थित हुनेमा देउवापछि राउत दोस्रोमा पर्छन् । 

फागुन महिनामा सबै बैठकमा उपस्थित हुने ५२ जना 

अधिवेशन चलेको महिनामध्ये फागुन महिनामा १२ बैठक बसेका थिए । फागुन महिनामा सांसदको उपस्थिति अलि बाक्लो देखिएको छ । 

फागुन महिनामा ५२ जना सांसद १२ वटै बैठकमा सहभागी भएका छन् । तर, यी सबै अघिल्लो महिनामा पूरै बैठकमा उपस्थित भएका छैनन् ।

अन्जनी श्रेष्ठ, अम्बिका बस्नेत, आस्माकुमारी चौधरी, उर्मिला माझी, कालुराम राई, किरणकुमार साह, कुशुमदेवी थापा, गोमा लाभ सापकोटा सबै १२ वटा बैठकमा उपस्थित भएका थिए । 

डा. चन्दा कार्की भण्डारी, डा. चन्द्र भण्डारी, दयालबहादुर शाही, दीलेन्द्र बडू, देवीप्रकाश भट्टचन, देवेन्द्र पौडेल, नारायणी शर्मा, निर्मला कोइराला, नैनकला थापा र पूर्णबहादुर तामाङ फागुन महिनाका सबै बैठकमा उपस्थित भएका थिए । 

पढ्नुहोस् यो पनिः 

रोकिएन महिनामा १ दिन उपस्थित भएर भत्ता पचाउने प्रवृत्ति, पूरै उपस्थित हुने सांसद १४ मात्र

३९ सांसद हरेक बैठकमा उपस्थित हुँदा शीर्ष नेताको उपेक्षा, देउवा सबैभन्दा कम

प्रतीक्षा तिवारी, प्रेम बहादुर महर्जन, प्रेम सुवाल भीम आचार्य, मैना कार्की, रघुजी पन्त, रूक्मिणी राणा बराइली, रुपा शोशी चौधरी, रोशन कार्की, बिजुला रायमाझी, विना लामा पनि फागुन महिनाका सबै बैठकमा उपस्थित भएका थिए । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सांसद शिव नेपाली, शिशिर खनाल, सरस्वती सुब्बा, सराज अहमद फारुकी, शान्ति चौधरी, सुनिता बराल, सुहाङ नेम्वाङ, सोनु मुर्मु र माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे पनि फागुन महिनाका सबै बैठकमा उपस्थित भएका छन् । 

संसद् बैठकमा अनुपस्थित भएपनि सांसदहरूले तलबभत्ता भने महिनाभरीको लिने गरेका छन् । प्रतिनिधि सभाको बैठकमा हाजिर गरेबापत सांसदले दैनिक भत्ता र ट्याक्सी भाडाबापतको भत्ता पाउने गरेका छन् । 

हेर्नुहोस्, तपाईंले जिताएर पठाएका जनप्रतिनिधि संसदमा कति उपस्थित हुन्छन् ? :

nullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnull
 

salt training

कमेन्ट गर्नुहोस्