
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ ।
प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।
राजापानीको बेलडाँडास्थित पावर हाउस (विद्युतगृह)बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
करिब एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडामा ल्याइएको पानीलाई ११० मिटर पेनस्टकमार्फत् प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको हो ।
राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर जलविद्युत् उत्पादन गरेको प्रवर्द्धक कम्पनीले खोलामा पानी नै सुकाएर जलविद्युत् उत्पादन गरेको पाइएको छ । जलविद्युत् उत्पादन गर्दा कम्तीमा दश प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगिएको थियो ।
साप्सुखोलामा जलविद्युत् प्रवर्द्धक कम्पनीले स्थापनाकालबाटै खोलामा पानी नछाडी जलविद्युत् उत्पादन गरेपछि समस्या भएको जनाइएको छ ।
जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्नका लागि खोला नै सुकाएर पानी फर्काएपछि खेतीपाती गर्न समस्या भएको स्थानीय कुमार बुढाथोकीले गुनासो गरे ।
‘साप्सुखोलामा सञ्चालित जलविद्युत् आयोजनाको बाँधभन्दा मुनिका भागमा पानी सुकेर समस्या भएको छ । यतिमात्रै होइन । यसअघि जिल्ला प्रहरी कार्यालयमा बसेर गरेको सम्झौतासमेत आयोजनाले कार्यान्वयन गरेको छैन’, उनले भने, ‘खोलै सुक्नेगरी पानी फर्काएर जलविद्युत् आयोजना सञ्चालन गरेपछि आफूलाई चाहिएको समयमा खेतबारीमा पानी लगाउन पाएका छैनौं । यसले गर्दा यस वर्ष चैते धान रोप्नसमेत समस्या भयो ।’
प्रवर्द्धक कम्पनीले खोलाको पानी नै सुकाएर जलविद्युत् आयोजना सञ्चालन गरेको विषयमा आफूहरूले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको स्थानीयवासीले बताएका छन् ।
खोला सुक्नेगरी जलविद्युत् आयोजनाले पानी फर्काएको विषयमा आफूलाई अहिलेसम्म कुनै पनि निकायबाट जानकारी नआएको खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए ।
साप्सुखोला असला माछा पाउने जिल्लाका खोलामध्ये सबैभन्दा बढी पाउने खोलामा पर्दछ । बाँधदेखि ड्यामसम्मको करिब चार हजार २०० मिटर क्षेत्रमा पानी सुकेपछि चराचुरुङ्गी तथा जङ्गली जनावरलाई समेत पानीको समस्या स्थानीयले बताएका छन् ।
खोलाको पानी नै सुकाएर साप्सुखोलाबाट जलविद्युत् उत्पादन गर्ने आयोजनाका स्थानीय प्रमुख प्रदीप दाहालले हिउँदको समयमा खोलामा पानीको बहाव घटेकाले कम भएको बताएका छन् ।