
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीन, भारत, पाकिस्तान र बङ्गलादेशका स्टल बुकिङ भएका छन् ।
वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने मेलामा वस्तुगत संघका स्टलहरूसमेत बुकिङ भइसकेका महासंघले जनाएको छ ।
महासंघले प्रत्येक वर्ष नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौं सँस्करण हो ।
मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापानलगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिएकोमा हालसम्म चीन, भारत, पाकिस्तान, बङ्गलादेशका व्यवसायीहरूबाट स्टल बुकिङ भइसकेको छ । मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने छ ।
नेपाल सरकार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको प्रबर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ ।
महासंघले २०८१ चैत ११ गतेबाट स्टल बुकिङ खुल्ला गरेको थियो ।
मेलामा कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।
महासंघका अनुसार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरू, वस्तुगत संघहरूका उत्पादनहरू , साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (ईभी) गाडीहरू समेत राखिने छ ।
मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको छ ।
मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रबर्द्धन तथा लगानीबारे छलफलसमेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा छ ।