
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छिन् ।
बैङ्ककमा आजदेखि शुरू संयुक्त राष्ट्र सङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को ८१औं सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौं गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थित शहरीकरण पनि एक रहेको बताइन् ।
‘एसिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास’ विषयक सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा राणाले भनिन्, 'शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन् । तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरू निम्त्याइरहेको छ । त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्छ ।'
उनले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताइन् ।
शहरहरूबीचको सञ्जाललाई मजबुत बनाउनुपर्ने, जनसाङ्ख्यिक रुपान्तरणका लागि सशक्त योजना बनाउनुपर्ने र विविध स्रोतबाट वित्तीय सहयोगका उपायहरू अपनाउनुपर्नेमा उनले जोड दिइन् ।
मन्त्री डा. राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएका बताइन् ।
उनले डिजिटल डिभाइडका कारण शहरी र ग्रामीण समुदायबीचको सम्बन्धमा ठूलो खाडल पैदा भएकाले यसको सम्बोधन गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिइन् ।
परराष्ट्रमन्त्री डा. राणाले एसिया र प्रशान्त क्षेत्रको सामाजिक सुरक्षा प्रणाली अझै अपूरो र कमजोर अवस्थामा रहेकाले यसमा विश्वका उत्कृष्ट अभ्यासहरूबाट सिकेर लगानी बढाउनुपर्ने बताइन् ।