
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूँजीगत बजेट कार्यान्वयनको गति बढाउन मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षामा मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनमा बाँकी अवधि महत्त्वपूर्ण हुने भएकोले बजेट कार्यान्वयनको स्पीड बढाउन निर्देशन दिएका हुन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । लक्ष्य अनुसार प्रगति हासिल हुन नसकेपछि मुख्यमन्त्री कँडेलले हिजोको भन्दा जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त नतिजा नआउनुको कारण के हो भन्दै सचिवहरूलाई प्रश्न गरे ।
‘पहिला जनशक्ति पर्याप्त थिएन भनेर काम रोकिन्थे तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन रिजल्ट निस्कन सकेन? समीक्षा गर्नैपर्छ’, उनले भने ।
मुख्यमन्त्री कँडेलले सुशासन र बजेट कार्यान्वयनमा अथक प्रयास गरेपनि सन्तुष्टि मिल्नेगरी प्रगति हासिल गर्न नसकिएकोतर्फ मन्त्री तथा सचिवहरूको ध्यानाकर्षण समेत गराए ।