
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षकहरूको सडक आन्दोलन लम्बिइरहेका बेला मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
शिक्षकहरू २० दिनदेखि राजधानीकेन्द्रित सडक आन्दोलनमा छन् । शिक्षकहरूसँग सहमति हुन नसकिरहेका बेला केही समयदेखि शिक्षामन्त्री भट्टराई दबाबमा थिइन् ।
००००
राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान हुने भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राष्ट्र बैंकको पत्रअनुसार प्रसाईंविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरी अनुसन्धान गर्न लागेको हो । प्रसाईं हाल जिल्ला प्रहरी परिसरको हिरासतमा छन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनको सन्दर्भमा आन्दोलनरत शिक्षकहरूसँग कुरा भइरहेको बताएका छन् ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले शिक्षक आन्दोलनका विषयमा शिक्षकहरूसँग कुरा भइरहेको बताएका एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा आएको पनि बैठकमा जानकारी गराएका थिए ।
बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।
००००
राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा उनले नेविसंघका मोहम्मद प्रबेजलाई पराजित गर्दै विजयी भएका हुन् ।
००००
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरुको आन्दोलन स्थगित नहुने बताएका छन् ।
सोमबार राजधानीमभा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले चाहेको खण्डमा केही दिनमा नै विद्यालय शिक्षा विधेयक टुङ्ग्याएर जारी गर्न सकिने अवस्था रहेको र त्यसपछि मात्रै आफूहरु कार्यक्षेत्रमा फर्किने बताएका हुन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ७ दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को विन्दुमा कायम भएको हो ।
सोमबार विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिद बिक्री हुँदा रू आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
००००
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक लाख ९१ हजार रूपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन आइतबारभन्दा सोमबार सुन तोलामा १२०० रूपैयाँले बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँ थियो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारका अमिन दिनेशप्रसाद यादवविरुद्ध ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा अमिन पदमा कार्यरत यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
००००
दाङको तुलसीपुरमा आफैंले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका– ७ मोतिपुर निवासी ८३ वर्षका नारायण आचार्यको आफ्नै घरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिए ।
००००
नेकपा एमालेले मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६ औं वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।