नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकताको झण्डा बोकेर नथाकेको बताएका छन् । तर, विगतमा एमालेसँग गरिएको जस्तो सिद्धान्तहीन एकता भने नगर्ने उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवस एवं लेनिन जयन्तीको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकताका लागि प्रयास जारी राख्ने बताएका हुन् ।
‘नेपाली मौलिकतामा पार्टी एकतालाई सुदृढ गर्ने कोशिश गरिरहेका छौं । क्रान्तिकारी कम्युनिस्टलाई एकता गर्ने कामबाट विमुख भएका छैनौं,’ उनले भने, ‘केही प्रयोग गर्यौं र असफल भयौं । अवसरवादका कारण, व्यक्तिवाद र बुर्जुवा चिन्तनका कारण सफल हुन सकेन । हामी थाकेका छैनौं । कम्युनिस्ट एकताको झण्डा बोक्न छाडेका छैनौं । जति पनि लचिलो हुन तयार छौं ।’
प्रचण्डले विगतमा एमालेसँग गरिएको जस्तो सिद्धान्तहीन एकता नगर्ने बताए ।
‘सिद्धान्तहीन एकता कति घातक हुँदोरहेछ भन्ने देखेका छौं । त्यस्तो गल्ती अब हुँदैन । समाजवादी मोर्चामार्फत एकता गर्ने अभियान भने छाडेका छैनौं,’ उनले भने ।
आफूहरूकै नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएको र माओवादीले नै समाजवादी क्रान्तिको नेतृत्व गर्ने उनले दाबी गरे ।
‘जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको छ । अब गर्ने समाजवादी क्रान्ति हो । त्यो मौलिक विशेषतामा आधारित र संश्लेषित हुनुपर्छ । अबको समाजवादी क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी हाम्रै काँधमा छ । अहंकारको कुरा होइन, ऐतिहासिक सच्चाइ हो,’ प्रचण्डले भने, ‘अवसरवादीले माओवादीको अवसान भयो भनेर पटक–पटक अपमानित गर्ने गरेका छन् । प्रत्येकपटक माओवादी नयाँ शिराबाट उठ्छ । त्यसैका लागि अहिले जनतासँग जोडिएका छौं ।’