०३ साउन २०८३, आइतबार

पूर्व गभर्नर डा. भट्टराईले गभर्नर सिफारिस समितिबाट दिए राजीनामा

बैशाख ९, २०८२
काठमाडौं
पूर्व गभर्नर डा. भट्टराईले गभर्नर सिफारिस समितिबाट दिए राजीनामा

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

समिति गठन भएपछि एकपटक पनि बैठक नबसेकाले राजीनामा दिनुपरेको डा. भट्टराईले लोकान्तरसँग बताए । 

'हाम्रो काम के हो र ? समिति बनाएपछि हामीले काम गर्न पाउनु पर्दैन ?' डा. भट्टराईको प्रश्न छ । 

उनले मंगलबार ह्वाट्सएपमार्फत आफ्नो राजीनामा पठाएका छन् । 

'उताबाट स्वीकृत होस्, नहोस् केही भएन । काम नै गर्न नपाएपछि समितिमा बसिरहनुको औचित्य छैन,' डा. भट्टराईको आक्रोश छ ।

सरकारले गत चैत १८ गते अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा पूर्व गभर्नर डा. भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहने गरी गभर्नर सिफारिस समिति गठन गरेको थियो । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गभर्नर नियुक्तिको विषयलाई लिएर लामो समयसम्म रस्साकस्सी चलिरहेको थियो ।

यसअघिका गभर्नर महाप्रसाद अधिकारी गत चैत २४ गते देखि नै अवकाशमा गएका थिए । राष्ट्र बैंक ऐनअनुसार अधिकारी अवकाशमा जानुअघि एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भएपनि दलीय सहमति नभएपछि राष्ट्र बैंक अहिले कायममुकायम गभर्नरको भरमा चलिरहेको छ । एक साताअघि गभर्नर कांग्रेसले लिने सहमति भएको चर्चा शुरू भयो ।

देउवाको क्यान्डिडेटका रूपमा राष्ट्र बैंकमै कार्यरत कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम अगाडि आयो । अहिले उनको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन परेको छ । त्यसमा सुनुवाइ जारी छ । यिनै परिस्थितिका बीच सदस्य डा. भट्टराईले राजीनामा दिएका हुन् ।

उनले मापदण्ड नपुगेका कोही पनि व्यक्तिलाई सिफारिस गर्न नसकिने र गरिहालेमा आफूले नोट अफ डिसेन्ट राख्ने धारणा राख्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्