२८ असार २०८३, आइतबार

अभिभावकविहीन बालबालिकालाई विद्यालयमा टिकाउन मोरङका दुई पालिकाले गरेको नयाँ अभ्यास

बैशाख १०, २०८२
विराटनगर
अभिभावकविहीन बालबालिकालाई विद्यालयमा टिकाउन मोरङका दुई पालिकाले गरेको नयाँ अभ्यास

अभिभावकविहीन बालबालिकालाई विद्यालयमा टिकाउन मोरङका दुई पालिकाले नयाँ अभ्यास गरेका छन् । अभिभावक गुमाएका विद्यार्थीको पठनपाठनमा असर पुग्न नदिने उद्देश्यले मोरङका दुई पालिकाले फरक अभ्यास गरेका हुन् । 

मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाले  विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेका छन् । अभिभावक नहुँदा बालबालिकाहरूमा पारिवारिक र सामाजिक जिम्मेवारी बढ्ने, त्यसले बिचमै पढाइ छोड्नुपर्ने समस्या आउने र पठनपाठन र सामाजिक व्यवहारमा पनि असरपन सक्ने भएकोले दुई पालिकाले त्यस्ता विद्यार्थीको पढाइमा सहजीकरण गरिरहेका छन् ।   

आमा वा बाबुमध्ये कुनै एक र दुवै अभिभावक नभएका बालबालिकाहरूको संख्या मिक्लाजुङ गाउँपालिकामा भने उच्च रहेको पाइएको छ । मिक्लाजुङ गाउँपालिकामा ३८ सामुदायिक विद्यालय छन् । त्यहाँका विद्यालयमा ५ हजार ९०० विद्यार्थी अध्ययन गर्छन् । तीमध्ये ८१० जना अभिभावक गुमाएका बालबालिका रहेको पालिकाले जनाएको छ । शिक्षा शाखाले दिएको तथ्यांकअनुसार १४ प्रतिशत विद्यार्थीका अभिभावक छैनन् । 

गाउँपालिकाको शिक्षा शाखाले विगत पाँच वर्षदेखि अभिभावक गुमाएका बालबालिकाहरूको  उज्यालो भविष्यका लागि शिक्षकलाई नै सारथि बनाउने अभ्यास गरिरहेको शिक्षा शाखाका अधिकृत काशिनाथ खनालले बताए । 

गाउँपालिकाले संकलन गरेको तथ्यांकअनुसार अभिभावकविहीन बालबालिको संख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ । २०७६ सालमा ६१० जना विद्यार्थीहरू अभिभावकविहीन थिए भने २०७७ मा त्यो संख्या बढेको छ । एक शैक्षिक सत्रमा १०७ जना विद्यार्थी बढेका छन् । 

२०७७ मा ७१७ जना विद्यार्थी अभिभावक नभएका पुगेका थिए । २०७८ मा ७६८, २०७९ मा ८६१, २०८० मा ७६८ र २०८१ मा ८१० जना अभिभावकविहीन बालबालिका रहेको शिक्षा शाखा प्रमुख खनालले बताए । अभिभावक गुमाएकाहरूमध्ये सबैभन्दा धेरै संख्या आमा गुमाएका बालबालिकाहरू रहेका छन् । 

यसवर्ष (२०८१ मा) गाउँपालिकाका विद्यालयमा अध्ययनरत ८१० मध्ये १२२ विद्यार्थीका आमा र बाबु दुवै जना छैनन् भने ६८८ जनाले आमा र बाबुमध्ये एक जनालाई गुमाएका छन् । एक जना अभिभावक गुमाएका ६८८ मध्ये ३७५ जना आमा गुमाएका बालबालिकाहरू त्यहाँका विद्यालयमा अध्ययनरत रहेका छन् । जसमध्ये ७९ जना बालबालिकाको आमाको मृत्यु भएको हो भने बाँकी २९६ जना बालबालिका आमाले छोडेर गएका कारण अभिभावकविहीन बनेका हुन् ।
पालिकामा ३१३ बालबालिकाले दुई अभिभावकमध्ये बाबु गुमाएका छन् । जसमा १२१ बालबालिकाको बाबुको मृत्यु भएको हो भने १९२ जना बाबुहरू बेखबर भई बेपत्ता भएका कारण बालबालिकाहरू अभिभावकविहीन छन् । 

वैदेशिक रोजगारीमा गएर उत्तै बेपत्ता भएका, दोस्रो विवाह गरेर सम्पर्कमा नरहेका बाबुहरूको संख्या पनि उल्लेख्य देखिएको गाउँपालिकाले जनाएको छ । मिक्लाजुङका ३८ मध्ये २५ सामुदायिक विद्यालयहरूमा अभिभावक गुमाएका विद्यार्थीहरू अध्ययन गरिरहेको पाइएको छ ।

अभिभावक गुमाएका बालबालिकाहरूको रेखदेख, उनीहरूको निगरानी र उनीहरूलाई अध्ययनमा सहयोग पुग्ने काममा गाउँपालिकाले चासोका दिएको छ । ती विद्यार्थीहरूलाई गएको शैक्षिक सत्र २०८१ मा ५ लाख रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको थियो भने विभिन्न अवसरहरूमा उनीहरूलाई सहयोग गरेको शिक्षा शाखाका प्रमुख खनालले जानकारी दिए  । गाउँपालिकाले त्यस्ता विद्यार्थीहरूलाई ध्यान दिन र बढी माया गर्न शिक्षकहरूलाई निर्देशनसमेत दिने गरेको छ । 

समाजमा बढ्दो सम्बन्ध विच्छेदका घटना, छोराछोरी छोडेर बेपत्ता हुने प्रवृत्ति, दोस्रो विवाह गरेर हिँड्नेजस्ता समस्या बढ्दै जाँदा बालबालिकाहरूले अभिभाव गुमाउन परिरहेको कारुणिक अवस्था गाउँपालिकाको अध्ययनबाट उजागर भएको हो । 

गाउँपालिकाले शिक्षाको सुधारका लागि पूर्वाधार निर्माण, शिक्षण सिकाइमा सुधार गर्नुका साथै विद्यार्थीहरूको अवस्था विश्लेषण गरेर उनीहरूलाई आवश्यक सहयोग र समन्वय गर्ने काम गरिरहेको गाउँपालिकामा उपाध्यक्ष दिनेश पौडेलले बताए ।  

अभिभावक गुमाएका बालबालिकाको अध्ययन र सिकाइ उपलब्धिमा फरक पर्ने भएकोले गाउँपालिकाले त्यस्ता बालबालिकाहरू खोजी गरेर उनीहरूलाई प्रोत्साहन गर्ने, विद्यालयमा सहयोग गर्ने, उनीहरूको निगरानी गर्ने र सकेसम्म माया गरेर अभिभावकत्व प्रदान गर्ने गरेको उनले बताए ।

लेटाङमा शिक्षामा नवीन कार्यक्रम
शिक्षा क्षेत्रमा नगरपालिकाले ‘बालिका शिक्षा बचत कार्यक्रम’ सञ्चालन गरेको छ । २०७९ असोज १ गतेदेखि जन्मेका वडा नम्बर १, ७ र ८ का पहाडी भेगमा जन्मेका बालिकाहरूलाई जन्मनेवित्तिकै वार्षिक २ हजारका दरले १६ किस्तासम्म बचत गरिदिने व्यवस्था गरिदिएको मेयर भुपेन्द्र लावतीले बताए । 

१६औं किस्तापछि उनीहरू १२ कक्षा पढ्ने उमेरमा हुने र बचत सहितको ब्याज सहितको रकम प्राप्त गर्ने उनले बताए । यी तीनवटा वडाहरू भूगोलमा विकट छन् । 

पहाडी भूगोलमा पढ्ने विद्यार्थीहरूले समयमै विद्यालय छाड्ने गरेका छन् । यस कार्यक्रममा सहभागी हुन केही सर्तहरू पनि राखिएका छन् । परिवारमा दुई वटा बच्चा मात्र हुनुपर्ने (तेस्रोले यो सुविधा नपाउने), बालविवाह नगर्ने, विद्यालय नछोड्ने, स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्नुपर्नेजस्ता सर्तहरू छन् ।  हालसम्म ४७ जना बालिका यस कार्यक्रममा सहभागी भएका छन् ।  

पहाडी क्षेत्रका बालिकाहरूले विद्यालय छाड्नु पर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले यो कार्यक्रम राखिएको नगरपालिकाले जनाएका छन् । त्यसैगरी, बाबु–आमाको मृत्यु भएका बालबालिकालाई १२ कक्षासम्म वार्षिक ३६ हजारसम्म छात्रवृत्ति प्रदान गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।  

जसबाट हाल ९ जना विद्यार्थी लाभान्वित भइरहेका छन् । उर्लाबारीको मदन भण्डारी प्राविधिक शिक्षालयसँगको सहकार्यमा विद्यार्थीहरूलाई प्राविधिक शिक्षाको अवसर पनि प्रदान गरिएको नगरपालिकाले जनाएको छ । 

पालिकाले विद्यार्थीको पढाइका लागि खर्च व्यहोर्ने र विद्यार्थीले पढेपछि कमाएर ऋण तिर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । प्राविधिक विषय पढ्न नगरपालिकाले प्रोत्साहन गरेको हो । 

लेटाङ मिक्लाजुङ तिरका धेरै बालबालिका पढ्दा पढ्दै विद्यालय छाड्ने गरेका छन् । बालविवाह रोक्न पालिकाले यो अभियान थालिएको पालिकाहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्