
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
वैशाख ११ गतेदेखि सञ्चालनको तयारी भएको कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा वैशाख ११ गतेबाट सारेर २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । मंगलबार बिहान बोर्डको बैठक बसेर निजामति कर्मचारी परिचालन गरेर भए पनि आउँदो बिहीबार ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यद्यपि शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय बिबादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए ।
२२ दिनदेखिको आन्दोलनले शिक्षा क्षेत्र अस्तव्यस्त बनेको छ । आन्दोलनकै कारण विद्यालय भर्ना अभियानसमेत प्रभावित बनेको छ । यस्तै सामुदायिक विद्यालयमा पठन पाठन हुन सकेको छैन ।
००००
यसैबीच बुधबारदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने भएको छ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन आजदेखि बिहान ११ देखि २ बजेसम्म तय गरिएको जानकारी दिए ।
पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो ।
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि प्रधानमन्त्री केपी ओली निशानामा परेका छन् । तर, ओलीले सोही प्रकरणलाई देखाएर आफ्नो राजीनामा माग्नेलाई प्रधानमन्त्री केपी शर्माले १५ महिना धैर्य गर्न सुझाव दिएका छन् ।
कांग्रेससँग गरेको सहमतिअनुसार १५ महिनापछि आफूले राजीनामा गर्ने ओलीले बताए । ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैंकक भ्रमणको विषयलाई लिएर भइरहेका आशंका हावादारी भएको पनि बताए ।
००००
भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित तीन जनाको मृत्यु भएको हो ।
००००
भारतको जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतंकवादी आक्रमण भएको छ। बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा २७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मृत्यु हुनेमा एक नेपाली पनि रहेको दैनिक भास्करले जनाएको छ । भास्करको समाचारअनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन् । समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ ।
००००
सरकारले ४७ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवाको सूची सार्वजनिक गरेको हो ।
००००
बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको भन्दै उनकी पूर्वपत्नी आरती रावल धर्ना बसेकी छन् ।
मंगलबारदेखि उच्च अदालत बुटवलको गेट अगाडि रावत अर्धनग्न अवस्थामा धर्ना बसेकी हुन् । उनी उच्च अदालत तुलसीपुर इजलास बुटवलमा अर्धनग्न धर्ना बसेकी हुन्।
००००
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ ज्येष्ठ नेतालाई कम्युनिस्ट योद्धा सम्मान प्रदान गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
००००
घरायसी विवादमा धनुषामा आमाले आफ्ना छोराछोरीलाई विष खुवाउँदा तीन बालबच्चाको मृत्यु भएको छ ।
शहीदनगर नगरपालिका– ५ स्थित बासुदेवपट्टी बस्ने ३० वर्षीया बबिता साहले घरको झगडामा सोमबार साँझ शुरूमा दुई छोरी र एक छोरालाई विष सेवन गराएर आफूले समेत विष सेवन गरेकी हुन् ।
००००
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकलाई गभर्नर बनाउन नहुने भन्दै महान्यायाधिवक्ता कार्यालयले तत्कालीन सरकारलाई दिएको पत्र लोकान्तरले फेला पारेको छ ।
२०६१ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको समयमा महान्यायाधिवक्ता कार्यालयले सरकारलाई पत्र लेखेर कार्यकारी निर्देशकलाई गभर्नर बनाउन नमिल्ने लिखित राय दिएको थियो ।
तत्कालीन समयमा महान्यायाधिवक्ता महादेवप्रसाद यादव भए पनि कार्यालयको पत्रमा नायब महान्यायाधिवक्ता कृष्णप्रसाद प्रसाईंको हस्ताक्षर थियो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ ।
आज नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो ।
००००
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथिको ‘नजरबन्द’ हटेको छ ।
गत चैत १५ मा तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनका हिंसात्मक बनेसँगै सुवेदीलाई घरबाट बाहिर निस्कन नदिई २४ सै घण्टा प्रहरी निगरानीमा राखिएको थियो ।
००००
काठमाडौंको तीनकुनेमा गएको चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनमा सहभागी भई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ६ नयाँवस्तीका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
००००
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिबाट पूर्व गभर्नर डा विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।
समिति गठन भएपछि एकपटक पनि बैठक नबसेकाले राजीनामा दिनुपरेको डा भट्टराईले लोकान्तरसँग बताए ।
००००
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्ष र पदाधिकारीका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको नाम सिफारिस भएको छ ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले पूर्वप्रधानन्यायाधीश श्रेष्ठसहितको नाम सिफारिस गरेको हो ।