
नेपाल र कतार सरकारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले समझदारी हुने भएको छ ।
नयाँ र समावेशी क्षेत्रलाई समेट्ने ऐतिहासिक पहलको रूपमा लिइएको उक्त प्रस्तावित सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।
कतारले आरम्भमा युवा केन्द्रित प्रारम्भिक मस्यौदा प्रस्ताव गरेपछि नेपालका तर्फबाट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रलाई समेत समावेश गर्न आग्रह गर्दै विस्तारित मस्यौदा पठाएका थिए । उक्त मस्यौदालाई कतार सरकारले सकारात्मक रूपमा स्वीकार गरेको छ ।
यस्ता छन् विशेषता
महिला खेलकुद प्रवर्द्धन: यो सम्झौतामा पहिलोपटक महिलाको सक्रिय सहभागिता र प्रोत्साहनलाई प्राथमिकता दिइएको छ ।
खेलकुद स्वास्थ्य विज्ञान : खेलकुदमा हुने चोटपटकको व्यवस्थापन तथा खेलाडीको स्वास्थ्य सुरक्षाका लागि खेलकुद चिकित्सा क्षेत्रमा सहकार्य गरिनेछ ।
डोपिङ र प्रतिरोध कार्यक्रम: स्वच्छ प्रतिस्पर्धालाई सुनिश्चित गर्न डोपिङबिरुद्ध सचेतना अभिवृद्धि तथा आवश्यक नीति निर्माणमा दुई देश मिलेर काम गर्नेछन् ।
प्रतिभाशाली युवा तथा खेलाडी आदान–प्रदान: दुवै देशका उदीयमान खेलाडीहरूलाई प्रशिक्षण, प्रतिस्पर्धा र अनुभव साटासाटका अवसर प्रदान गरिनेछ ।
पारा खेलकुद प्रवर्द्धन: अपाङ्गता भएका खेलाडीहरूलाई लक्षित गर्दै समावेशी खेलकुद विकासलाई प्राथमिकता दिइएको छ ।
मैत्रीपूर्ण खेल तथा प्रतियोगिता: नेपाल र कतारबीच मैत्रीपूर्ण खेल प्रतियोगिता आयोजना गरी दुई देशबीचको सांस्कृतिक र क्रीडात्मक सम्बन्ध थप मजबुत बनाइनेछ ।
युवासम्बन्धी सहकार्य
युवा आदान–प्रदान कार्यक्रम: दुवै देशका युवाबीच आपसी समझदारी र सहकार्य अभिवृद्धिका लागि कार्यक्रमहरू सञ्चालन गरिनेछ।
रोजगारी तथा सामाजिक समावेशिता: युवाहरूलाई लक्षित गर्दै रोजगारीका अवसर तथा सामाजिक चुनौतीहरू सम्बोधन गरिनेछ।
प्राकृतिक विपद् तयारी तथा वातावरण संरक्षण: वातावरणीय सचेतना तथा विपद् व्यवस्थापनमा युवाको सक्रिय सहभागिता सुनिश्चित गरिनेछ।
डिजिटल साक्षरता प्रवर्द्धन: युवालाई डिजिटल युगमा आवश्यक ज्ञान र सीप प्रदान गर्न डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ।
युवा जलवायु परिवर्तन सम्मेलन: जलवायु संकटप्रति युवाको नेतृत्व र सहभागिता सुनिश्चित गर्न दुई देशबीच संयुक्त सम्मेलनको आयोजना गरिनेछ ।
नेपाल सरकारले कतार सरकारसँग खेलकुद पूर्वाधार—जसमा रंगशाला, प्रशिक्षण केन्द्र तथा प्राविधिक सहायताका लागि औपचारिक अनुरोध समेत गरेको छ, जसले दीर्घकालीन खेलकुद विकासमा योगदान दिने विश्वास व्यक्त गरिएको छ।
दुवै देशका उच्च अधिकारीहरूले यो सम्झौतालाई 'ऐतिहासिक कदम'को रूपमा स्वागत गरेका छन्, जसले युवा सशक्तीकरण, खेलकुदको उन्नति र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।