१७ असार २०८३, बुधबार

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २० जना पक्राउ

बैशाख ११, २०८२
काठमाडौं
देशका विभिन्न स्थानबाट लागूऔषधसहित २० जना पक्राउ

देशका विभिन्न स्थानहरूबाट प्रहरीले अवैध लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण तथा तस्करीविरुद्ध चलाइएको विशेष अभियानअन्तर्गत प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ब्राउनसुगरजस्तो देखिने १३ ग्राम लागूऔषधसहित मोरङका कोपिल भट्टराई पक्राउ परेका छन् । थप अनुसन्धानका क्रममा सोही मामिलामा संलग्न सुरज राईलाई बालाजु बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-१ छोड्की सुनरीबाट डाइजेपाम, बुप्रेनोर्फिन र अन्य इन्जेक्सनसहित साजन सिंह ठकुरी, कपिल गैरे र एक भारतीय किशोर पक्राउ परेका छन्। उनीहरूले प्रयोग गरेको मोटरसाइकल र स्कुटरसमेत प्रहरीले बरामद गरेको छ।

ललितपुरको गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट ट्रामाडोल, स्पास्पेन र स्टागन ट्याब्लेटसहित उमेश संजेल पक्राउ परेका छन्। उनलाई मोटरसाइकल चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

कैलालीको धनगढी कनरीगाउँबाट ब्राउनसुगर जस्तो देखिने ६० मिलिग्राम पदार्थसहित तिर्थराज राना पक्राउ परेका छन्। त्यस्तै मोरङको विराटनगर मलाया रोडबाट ६ किलोग्राम गाँजासहित बालकृष्ण राई र मनोज गुरूङ पक्राउ परेका छन्।

सुनसरीको देवानगंज गाउँपालिका-२ यादव टोलबाट भारतका तीन नागरिक—मोहम्मद जावेद, मोहम्मद जमशेर र मोहम्मद आलविन— करिब ५ सय ग्राम गाँजासहित पक्राउ परेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाट करिब २ किलो ३१५ ग्राम चरेश जस्तो देखिने पदार्थसहित पदम बहादुर कार्की पक्राउ परेका छन्। उनी बसोबास गर्दै आएको होटलमा खोजतलास गर्दा उक्त लागूऔषध फेला परेको हो।

उदयपुरको बेलका नगरपालिका-९ रामपुरबाट २०० मिलिग्राम ब्राउनसुगरसहित जनम गहतराज पक्राउ परेका छन्। कैलालीको टिकापुर नगरपालिका-१ बाट खैरो हेरोइन जस्तो देखिने ३२० मिलिग्राम पदार्थसहित शाहिल शाह र सुमित साउद पक्राउ परेका छन्।

कास्कीको पोखरा-१७ बाट टापेन्टाडोल ट्याब्लेटसहित सबिन बिक र समिर राना पक्राउ परेका छन्। चितवनको राप्ती नगरपालिका-१ लोथरबाट ट्रामाडोल १,४५० ट्याब्लेट र नगद ९ हजार १४९ रुपैयाँसहित कवि श्रेष्ठ र सुरज घलान पक्राउ परेका छन् । प्रहरीका अनुसार, पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कानूनी कारबाही अगाडि बढाइएको छ र थप अनुसन्धान जारी छ ।

कमेन्ट गर्नुहोस्