२५ जेठ २०८३, सोमबार
सम्बन्धविच्छेद मुद्दा

मिलापत्रमा टुंगियो सीके राउतको मुद्दा– विवाह कायम राखेरै अलग बस्ने, पत्नीलाई मासिक ३३ हजार

बैशाख ११, २०८२
काठमाडौं
मिलापत्रमा टुंगियो सीके राउतको मुद्दा– विवाह कायम राखेरै अलग बस्ने, पत्नीलाई मासिक ३३ हजार

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सम्बन्धविच्छेद मुद्दा मिलापत्रमा टुंगिएको छ । 

ललितपुर जिल्ला अदालतकी न्यायाधीश निर्मला योङ्‍याको इजलासले वैवाहिक नाता कायम रहने गरी बुधबार मिलापत्रमा मुद्दाको टुंगो लगाइदिएको हो ।

प्रतिनिधि सभाका सांसद समेत रहेका राउतले पत्नी सोनी सिन्धु रानीसँग सम्बन्धविच्छेद गरिपाऊँ भनी गत भदौमा निवेदन दिएका थिए । तर, अदालतले सम्बन्धविच्छेद नगरी अलग–अलग रहन अनुमति दिएको हो ।

अदालतका सूचना अधिकारी रामसजिवन महतोका अनुसार मिलापत्रको आदेशमा राउतले पत्नी सिन्धुलाई आजीवन मासिक ३३ हजार रुपैया दिनुपर्ने उल्लेख छ ।

महंगीको आधारमा यो रकम बर्सेनि १० प्रतिशतका दरले बढ्ने छ । यस्तै, राउतले पत्नीलाई अंशबापत काठमाडौं उपत्यकामा दिएको जग्गामा घर बनाइदिनुपर्नेछ । राउतको भागमा पर्ने पैत्रिक सम्पत्तिलाई ५ भाग (छोराछोरीसहित) लगाएर एक हिस्सा पत्नीलाई दिने मिलापत्रमा उल्लेख छ । 

मिलापत्रबमोजिम ३ सन्तानको जिम्मा सीकेले लिनेछन् । बच्चाको भागमा परेको सम्पत्ति पनि सीकेकै नाममा रहनेछ । सीकेले भविष्यमा आर्जन गर्ने सम्पत्तिमा पत्नीको हक नलाग्ने भएको छ । छोराछोरी भने हकवाला कायम रहनेछन् ।

दुवैले सार्वजनिकरूपमा एकअर्काको आलोचना नगर्ने पनि मिलापत्रमा उल्लेख गरिएको छ । 'मधेश स्वराज’को नारा लगाएर उदाएका सीकेले पत्नीमाथि दुर्व्यवहार गरेको भन्दै उनको आलोचना भएको थियो । 

सम्बन्धविच्छेदको मुद्दा मिलापत्रमा टुंगिएलगत्तै राउतले बुधबार सामाजिक सञ्जाल फेसबूकमा पत्नीसहितको तस्वीर राखेका छन् । 

पढ्नुहोस्, यो पनि :

सीके राउतको फिराद पत्र : श्रीमतीमाथि गम्भीर आरोप, ५ भागको १ भाग सम्पत्ति मात्र दिन माग

सीके राउतको पार्टीमा भाँडभैलो– 'श्रीमती र सम्पत्ति'को विषयलाई लिएर हातहातमा स्पष्टीकरण

salt training

कमेन्ट गर्नुहोस्