
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा विदेश पठाउने नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको अजिरकोट गाउँपालिका-४ घर भई हाल काठमाडौंको काठमाडौं महानगरपालिका-१६ बस्ने २२ वर्षीय अनिल देवकोटा रहेका छन् ।
उनले अजरबैजान पठाउने भन्दै २ जनाबाट ६ लाख रूपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।
अजरबैजान लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको एसपी जिसीले बताए ।
बबरमहलबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीकालागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उनले बताए ।