०२ असार २०८३, मंगलबार

पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ

बैशाख १२, २०८२
काठमाडौं
पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ

पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले काठमाडौँ पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणको विषयलाई द्वन्द्वभन्दा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार रहनुपर्ने बताएको हो ।

संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न पहिचानवादी युवाहरू तयार रहेको बताएको हो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकासविरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढङ्गले वार्ता गर्न तयार रहेको बताए ।

सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उनले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको बताए। समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौँमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ छ ।

सबै पहिचानवादी समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरेपछि मात्र वार्ता र संवादबाट समाधान निस्किने समेत उनले विश्वास व्यक्त गरे । आन्दोलनमा अलगअलग समूह रहेकाले सार्थक वार्ता हुन नसक्दा समस्या बल्झिएकाले  जनस्तरमा रहेको वास्तविक समस्या बुझेर समस्याको समाधान निकाल्न सकिने अध्यक्ष चोङवाङको भनाइ छ ।

केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने भन्दै पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै सङ्घसंस्थासँग वार्ता र संवाद हुनुपर्ने अध्यक्ष चोङवाङको भनाइ थियो । आफूहरू खुला ढङ्गले संवाद गर्न र त्यसको पहल लिन तयार रहेको बताउँदै उनले निकासका लागि सबै पक्षको ध्यानाकर्षण गराउनुपरेको बताए ।

सरकारले सबै संस्था समूहलाई बोलाएर समस्या पहिचान गर्न खोज्नुपर्ने र त्यसले मात्र समाधान दिन सक्ने ठहर पहिचानवादी युवाहरूको छ । लिम्बूवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बूको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको संवर्द्धनका ग्यारेन्टी हुनुपर्ने उल्लेख गरे । उनले विश्वका अधिकांश राजनीतिक आन्दोलन वार्ता र संवादबाटै समाधान भएको उदाहरण दिँदै, “केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्छ”, भने । 

पहिचान र विकासलाई सँगसँगै लैजानुपर्छ भन्ने पक्षमा आफ्नो धारणा राख्दै अबको विकास मोडिलाटी सम्बन्धमा थप छलफल र बहस गर्नुपर्ने जोडदार माग पनि गरे । पहिचानका लागि युवाका केन्द्रीय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनुपर्नेमा जोड दिए ।

पहिचानवादी युवाहरूका संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माणलाई अघि बढाउन सबै पक्षसँग अपिल गरिरहेको पनि बताए ।  राज्यले सबैलाई वार्तामा बोलाउने र केबलकार निर्माण कम्पनीले पनि आफ्नो धारणा जनस्तरमा लैजाँदा समस्या समाधान हुने विश्वास पनि संयोजक आङदम्बेले राखे । 

salt training

कमेन्ट गर्नुहोस्