
पहलगाम आक्रमणपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई 'अधिकतम संयम अपनाउन' आह्वान गरेको छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावबीच दुवै देशलाई संयुक्त राष्ट्रसंघले संयमता अपनाउन आह्वान गरेको हो ।
संयुक्त राष्ट्र संघले एक पत्रकार सम्मेलनको क्रममा पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेको थियो ।
संयुक्त राष्ट्रसंघले दुवै देशले 'अधिकतम संयम अपनाउनुपर्छ र दुई देशबीचको स्थिति थप बिग्रन नदिने कुरा सुनिश्चित गर्नुपर्छ' भनेको छ । 'हामी विश्वास गर्छौं कि पाकिस्तान र भारत बीचको कुनै पनि समस्या वार्ताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ।'
मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले भने कि 'महासचिवले विगत २४ घण्टामा कुनै पनि सरकारसँग प्रत्यक्ष सम्पर्क गर्नुभएको छैन। तर चिन्ताका साथ परिस्थितिलाई निगरानी गरिरहनुभएको छ ।'