३० असार २०८३, मंगलबार

अदालतमै विष पिएर मर्ने प्रालियेक को हुन् ?

मंसिर १४, २०७४
अदालतमै विष पिएर मर्ने प्रालियेक को हुन् ?

काठमाडौं, १४ मंसिर — युरोपेली मुलुक बोस्नियामा चलेको गृहयुद्धमा युद्धअपराधी ठहरिएका पूर्वकमान्डर स्लोबोदान प्रालियेकले नेदरल्यान्ड्सको हेगमा चलिरहेको सुनुवाइका बेलामा विष खाएपछि उनको मृत्यु भएको छ ।

बुधवार आत्महत्या गरेका प्रालियेक बोस्निया क्रोएसियाका ६ राजनीतिक तथा सैन्य नेतामध्ये एक हुन् जसको सुनुवाइ हेगस्थित अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरणमा भइरहेको छ । 

बोस्निया क्रोएसिया सेना (एचभीओ) का पूर्वकमान्डर प्रालियेकलाई मानवताविरुद्धको अपराधमा सजाय सुनाइएको थियो । 

न्यायाधिकरणले उनको सजाय कायम रहेको सुनाएपछि उनले भने, ‘मैले विष पिएको छु ।’

पछि अस्पतालमा उनको मृत्यु भयो । 

स्लोबोदानलाई मोस्टार शहरमा गरिएका युद्धअपराधका लागि सन् २०१३ मा २० वर्षको सजाय सुनाइएको थियो । ताजा सुनुवाइ त्यो सजायविरुद्धको अन्तिम अपील थियो । 

संयुक्त राष्ट्रसंघ युद्धअपराध हेरिरहेका न्यायाधीशहरूले बताएअनुसार, प्रालियेकले सन् १९९३ मा युद्धका बेलामा सैनिकहरू प्रोजोरमा मुसलमानहरूलाई घेरिरहेका छन् भन्ने सूचना पाएपनि उनीहरूलाई रोक्न असफल रहे । 

प्रालियेकले मुसलमानहरूको हत्याका साथै अन्तर्राष्ट्रिय संगठनहरूका सदस्यमाथि आक्रमण र शहरका ऐतिहासिक पुराना पुल तथा मस्जिद ध्वस्त गर्ने योजनाको सूचना पाएपनि त्यसलाई रोक्ने प्रयास नगरेको पाइयो । 

युद्धको शुरुवातमा बोस्नियाली सर्बविरुद्धको युद्धमा बोस्नियाली क्रोएटहरू मुसलमानसँगै थिए । तर सन् १९९३ देखि १९९४ सम्म ११ महिनाका लागि मोस्टार शहरमा क्रोएट र मुसलमानहरू आपसमा भिडे । 

मुसलमानहरूले पूर्वी बोस्नियामा अनि प्रालियेकको सेनाले राजधानीको पश्चिम भागमा नियन्त्रण राखेका थिए । 

अदालतका अनुसार, प्रालियेक र उनीसँगैका पाँच अन्य दोषीको मुख्य लक्ष्य मुसलमानहरूलाई जबर्जस्ती हटाएर पूरै इलाकामा नियन्त्रण हासिल गर्नु थियो । 

सन् १९९५ को जुलाई महिनामा बोस्नियाली सर्ब सेनाले पूर्वी बोस्नियामा करीब आठ हजार मुसलमानहरूलाई मारे । त्यसमा बालबच्चा पनि परे । दोस्रो विश्वयुद्धपछि युरोपमा भएको यो नै सबभन्दा ठूलो अत्याचार मानिन्छ । 

सन् १९९२ देखि १९९५ सम्म चलेको बोस्नियाली युद्धमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो भने २२ लाख मानिस घरबारविहीन भएका थिए । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्