०६ असार २०८३, शनिबार

सुन्दरेखोलामा ‘आर्क ब्रिज’निर्माण हुने

बैशाख १३, २०८२
पर्वत
सुन्दरेखोलामा ‘आर्क ब्रिज’निर्माण हुने
पुष्पलाल मध्यपहाडी राजमार्ग । फाइल तस्वीर ।

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरे खोलामा मोटरेबल पुल निर्माण शुरू भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण शुरू भएको हो । 

पर्वतको कुश्मानगरपालिका–८ चुवामा पर्ने सुन्दरे खोलामा पहिलो पटक ‘आर्क ब्रिज’ निर्माण शुरू भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ । 

आयोजनाका इन्जिनियर कल्पना मिश्रकाअनुसार विगत तीन महिनादेखि पुल निर्माणको कार्य शुरू गरिएको हो । ८० मिटर लामो उक्त पुलको चौडाई ११ मिटर हुने भएको छ । डबल स्पानको यो पुल सामान्य पुलभन्दा लामो भएकाले दुईवटा स्पान बनाएर निर्माण गर्न थालिएको हो । 

पुल निर्माणका लागि विसं २०७९ साल भदौ २८ गते निर्माण कम्पनीसंगसम्झौता भएको थियो । यो निर्माण कम्पनीसँग पर्वत र बागलुङको गरी एकै पटक पाँच पुल निर्माणका लागि सम्झौता भएको भए पनि हालम्म पर्वत खण्डको तमादी खोलामा मात्र पुल निर्माण सम्पन्न भएको हो । 

दोस्रो पुल निर्माणकार्य सुन्दरे खोलामा सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर कल्पना मिश्रले जानकारी दिए। 

इन्जिनियर मिश्रकाअनुसार नौ करोड ५० लाख रूपैयाको लागतमा निर्माण हुने यो पुलको निर्माण अवधि आगामी विसं २०८२ भदौ २८ गतेसम्म रहेको छ । निर्धारित मितिमै पुल निर्माणलाई सम्पन्न गर्नका लागि निर्माण व्यावसायिलाई पर्याप्त मजदुर र उपकरण परिचालन गर्न भनिएको मिश्रले बताए । 

उनका अनुसार हालसम्मपुलको एकातर्फका पिप्लरको काम सम्पन्न गरी अर्कोतर्फको भागमा काम भइरहेको छ । ‘समग्रमा अहिलेसम्म दशप्रतिशत जति प्रगति भएको छ’ इन्जिनियर मिश्रले भने। 

यो खोलामा पुल निर्माण नहुँदा दुई वर्षअघि बाढीले बढाएर दुई जनाको ज्यानसमेत गएको थियो । 
हिउँद याममा सहज रूपमा यातायात सञ्चालन हुने भए पनि वर्षायाममा भने जोखिम पूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ । यो सडक हुँदै बागलुङ, म्याग्दी, मुस्ताङका सागै रुकुमका लागि सवारी साधन आउजाउ गर्ने गर्दछ । 

अत्याधिक सङ्ख्यामा र उच्च भारवहन क्षमतासमेतका सवारी साधन यो राजमार्गमा सञ्चालन हुने भएकाले आर्क प्रविधिको पुल निर्माण गर्न लागिएको हो । यो पुल अन्य मोटरेबल पुलभन्दा बलियो, टिकाउ उच्च भारवहन क्षमताका साथै कम मात्रामा मर्मत गरे हुने खालको रहेको इन्जिनियर मिश्रको भनाइ छ । 

कार्यालयकाअनुसार योसँगै पर्वतमा अझै दुइटा पुल निर्माणको काम बाँकी रहेको छ । पर्वत खण्डमा पर्ने मोदी गाउँपालिकाको पाती खोला र मोदी खोलामा दुई वटा पुल निर्माण गरिने भएको हो । 

उक्त पुलको जिम्मासमेत लुम्बिनी/प्राकृतिक जेभीले पाएको छ भने सम्झौतासमेत भइसकेको छ । निर्माण कम्पनीले आफैं डिजाइन स्टिमेट गर्ने भएकाले अझँ तयार गरिनसकेको कार्यालय प्रमुख शम्भु आचार्यले जानकारी दिए। 

मोदीखोलामा ६२ मिटर र पाती खोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२/ ५२ मिटर लामो दुईवटा पुल निर्माण हुनेछन् । उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएका कारण पुल निर्माणले गतिलिन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आचार्यले बताए । 

उक्त निर्माण कम्पनीले बागलुङको काठे खोलामा पनि मोटरेवल पुल निर्माण गर्न लागेका कारण सबै मोटरेवलपुलको लागत रु ४४ करोड १५ लाख रहेको कार्यालयले जानकारी दिएको छ । 

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिङ्गल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले  जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्