२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

रिहा भएपछि धवलशमशेर फेरि सक्रिय, छुटेनन् रवीन्द्र–थपियो म्याद

बैशाख १५, २०८२
काठमाडौं
रिहा भएपछि धवलशमशेर फेरि सक्रिय, छुटेनन् रवीन्द्र–थपियो म्याद

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन भड्काउन भूमिका खेलेको आरोप लागेका राप्रपाका महामन्त्री धवलशमशेर राणा फेरि सक्रिय भएका छन् । क्यान्सरको उपचारका लागि रिहा भएका उनी लगत्तै राजावादी आन्दोलनमा सक्रिय भएका हुन् । 

उनले विचार स्वतन्त्रतामा बन्देज लगाउने सरकारको दुष्प्रयासको विरोध र आस्थाका बन्दीको रिहाइको माग गर्न सोमबार जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी, राष्ट्रवादीलाई आह्वान गरेका छन् । राजावादी समूहले सोमबार राजधानीमा प्रदर्शन गर्दैछन् । 

००००

काठमाडौँ जिल्ला अदालतले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहित तीनकुने घटनामा पक्राउ परेका केही व्यक्तिहरूको स्वास्थ्य उपचारमा प्राथमिकता दिन आदेश गरेको छ । 

चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि उपस्थित गराइँदा अदालतले आइतबार मिश्रसहित पशुपति खड्का र  दुर्गा प्रसाईंसमेतको स्वास्थ्य उपचार प्राथमिकता दिन आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । 

यद्यपि अदालतले उनीहरूलाई थप ७ दिन हिरासतमा राख्न भने अनुमति दिएको छ । अदालतले कुल २५ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतमा रवीन्द्र मिश्रले न्यायाधीशसमक्ष आमाको मुख हेर्न दिन आग्रह गरेका थिए । मिश्रले रिहाइका लागि अदालतमा भनेपनि म्याद थप नै भएको हो ।

००००

मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठलगायतविरुद्ध ५२ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार छुट्टाछुट्टै ४ वटा भ्रष्टाचार मुद्दा दायर गर्दै ५२ करोड ४२ लाख ५४ हजार ४६० रुपैयाँ बिगो मागदाबी गरेको हो ।

००००

नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गरी विद्युत् आपूर्तिमा कुनै समस्या नरहेकाले ‘लोडसेडिङ’ को सम्भावना नरहेको स्पष्ट पारेको हो ।

००००

काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।

विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आइतबार निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो ।

सो क्रममा  ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

००००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले जनताको पक्षमा फेरि अर्को क्रान्ति गरेर माथि (स्वर्ग ?) जाने भनेर आफू दौडिरहेको बताएका छन् । ७० वर्षको उमेरमा पनि आफू तन्नेरी जस्तो बनेर देश दौडाहामा हिँडेको उनले बताए ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा आइतबार आयोजित जनसभा कार्यक्रममा प्रचण्डले समाजवादी क्रान्तिको झण्डा गाडेर मात्र माथि जाने योजना रहेको बताएका हुन् ।

००००

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज(सरम पचाएर आरोप लगाएका बताए ।

००००

पर्साको सानो पाइला सहकारी ठगीको अनुसन्धान मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकाएर शुक्रबार मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

००००

नेकपा एमालेका सांसद ठाकुर गैरेले संविधानको धज्जी उडाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले ‘श्री ५ महाराजाधिराज’को नाममा समवेदना सन्देश जारी गरेको भन्दै कारवाहीको माग गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालयका नाममा शनिबार जारी गरिएको समवेदना वक्तव्यमा श्री ५ महाराजधिराज लेखिएको भन्दै उनले आपत्ति जनाएका हुन् । साहले काश्मीरमा भएको आतंककारी हमलाको विरोध गर्दै शनिबार शोक वक्तव्य जारी गरेका थिए ।

००००

साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज झिनो अङ्कले बढेको छ ।

आइतबार नेप्से परिसूचक ३.५८ अङ्कले बढेर २६६१.६० को विन्दुमा कायम भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्