२७ असार २०८३, शनिबार
सय दिनको मत सर्वेक्षण

१०० दिनमै घट्यो ट्रम्पको लोकप्रियता, हालसम्मकै राष्ट्रपतिमध्ये कम रहेको सर्वेक्षणको निष्कर्ष

बैशाख १५, २०८२
काठमाडौं
१०० दिनमै घट्यो ट्रम्पको लोकप्रियता, हालसम्मकै राष्ट्रपतिमध्ये कम रहेको सर्वेक्षणको निष्कर्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरेको १०० दिन नपुग्दै उनीप्रति अमेरिकी जनताको समर्थनमा तीव्र गिरावट आएको देखिएको छ । ​​

सीएनएन र एसएसआरएसले संयुक्तरूपमा गरेको नयाँ सर्वेक्षणले ट्रम्पप्रति जनमत नकारात्मक हुँदै गएको देखाएको हो ।

सर्वेक्षणअनुसार, ट्रम्पको समर्थन दर हाल ४१ प्रतिशतमा झरेको छ, जुन १०० दिनमा कुनै पनि नवनिर्वाचित अमेरिकी राष्ट्रपतिमध्ये सबैभन्दा न्यून समर्थन दर हो ।

ट्रम्पको पहिलो कार्यकालको तुलनामा समेत यो दर कम रहेको छ । 

मार्चयता मात्रै ट्रम्पप्रतिको समर्थन ४ प्रतिशतले घटेको छ भने फेब्रुअरीको अन्त्यदेखि ७ प्रतिशतले घटेको सीएनएनले जनाएको छ । अहिले जम्मा २२ प्रतिशतले मात्रै ट्रम्पको कामप्रति बलियो समर्थन जनाएका छन् । ४५ प्रतिशतले बलियो असन्तुष्टि व्यक्त गरेका छन् ।

विशेषगरी महिला समुदायमा ट्रम्पको समर्थन उल्लेखनीय रूपमा घटेको छ । महिलामाझ समर्थन ७ प्रतिशतले घटेर ३६ प्रतिशत कायम भएको छ ।

रिपब्लिकनहरूमध्ये अझै ८६ प्रतिशतले ट्रम्पलाई समर्थन गरेका छन् भने डेमोक्र्याटहरूमा ९३ प्रतिशतले असन्तुष्टि जनाएका छन् । स्वतन्त्र मतदाताबीच ट्रम्पको समर्थन ३१ प्रतिशतमा सीमित छ, जुन उनको पहिलो कार्यकालको सबैभन्दा तल्लो स्तरसँग मिल्दोजुल्दो छ ।

सर्वेक्षणले ट्रम्पले प्रमुख नीतिगत मुद्दामा जनताको विश्वास गुमाउँदै गइरहेको देखाएको सीएनएनले उल्लेख गरेको छ । आर्थिक मामिलामा पनि ट्रम्पको प्रदर्शनप्रति जनसमर्थन घटेको छ ।

मुद्रास्फीतिको मुद्दामा उनको समर्थन दर ९ अंकले घटेर ३५ प्रतिशतमा पुगेको छ भने भन्सार महसुलका विषयमा ४ अंकले घटेर ३५ प्रतिशतमा सीमित भएको छ । समग्रमा अर्थतन्त्रको व्यवस्थापनमा उनको समर्थन ५ अंकले घटेर ३९ प्रतिशतमा झरेको छ ।

संघीय सरकारको व्यवस्थापन र योग्य व्यक्तिहरूको नियुक्तिको मामिलामा पनि ट्रम्पको विश्वासयोग्यता घटेको छ ।

संघीय सरकारको व्यवस्थापनमा समर्थन ६ अंकले घटेको छ भने उपयुक्त व्यक्तिहरूलाई नियुक्त गर्ने क्षमतामा विश्वास गर्नेहरूको संख्या ८ अंकले घटेर ४६ प्रतिशतमा सीमित भएको छ ।

विदेश नीति र आप्रवासनजस्ता मुद्दामा पनि ट्रम्पप्रति जनआस्था कमजोर हुँदै गएको छ ।

युक्रेन युद्धमा रुसप्रति नरम व्यवहार र वैदेशिक सहायता कार्यक्रमहरू कटौतीजस्ता निर्णयहरूले गर्दा परराष्ट्र मामिलामा उनको समर्थन ३९ प्रतिशतमा झरेको छ । आप्रवासन नीतिमा पनि समर्थन ६ अंकले घटेर ४५ प्रतिशतमा पुगेको छ ।

तर, यौन पहिचान र ट्रान्सजेन्डरसम्बन्धी मुद्दामा भने ट्रम्पले सानो सफलता हात पारेका छन् । यस क्षेत्रमा उनको समर्थन दर ५१ प्रतिशत रहेको छ, जसमा रिपब्लिकन समर्थकहरूबीच अत्यधिक समर्थन देखिएको छ ।

ट्रम्पका केही विवादास्पद कदमहरू– जस्तै राष्ट्रिय सांस्कृतिक संस्थाहरूमा हस्तक्षेप गर्ने प्रयासलाई जनताले अस्वीकृत गरेका छन् । करिब ६४ प्रतिशतले ट्रम्पको यस्तो प्रयास अनुचित भएको ठानेका छन् ।

रिपब्लिकन उपराष्ट्रपति जेडी भ्यान्सको लोकप्रियता पनि ट्रम्पजस्तै कमजोर देखिएको छ । भ्यान्सको समर्थन दर पनि ४१ प्रतिशतमा सीमित छ ।

कुल मिलाएर हेर्दा अमेरिकीहरू ट्रम्पको नेतृत्वप्रति सशंकित बन्दै गएको देखिएको छ । राष्ट्रपतिका रूपमा शक्तिको जिम्मेवार प्रयोगमा विश्वास गर्नेहरूको संख्या ८ प्रतिशतले घटेको छ भने देशलाई नेतृत्व दिन सक्ने विश्वास ९ प्रतिशतले घटेको छ ।

कार्यकारी आदेशहरूको अत्यधिक प्रयोगका कारण ट्रम्प आलोचित भएका छन्, जसमा धेरै आदेशले अदालतमा चुनौती खेपिरहेका छन् ।

यद्यपि, केही समर्थकहरू अझै पनि ट्रम्पले आफ्नो चुनावी प्रतिबद्धता पूरा गरिरहेको विश्वास गर्छन् । सर्वेक्षण अनुसार ५२ प्रतिशत अमेरिकीले ट्रम्पको दोस्रो कार्यकालले देशमा गहिरो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

सर्वेक्षण अप्रिल १७ देखि २४ सम्म १,६७८ जना अमेरिकी वयस्कबीच गरिएको थियो र यसमा त्रुटि सीमा ±२.९ प्रतिशत रहेको सीएनएनले लेखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्