०१ साउन २०८३, शुक्रबार

प्राधिकरणको श्वेतपत्र– कुलमानकालीन दायित्व भुक्तानी गर्न १० अर्ब ऋण लिनुपर्ने अवस्था

बैशाख १५, २०८२
काठमाडौं
प्राधिकरणको श्वेतपत्र– कुलमानकालीन दायित्व भुक्तानी गर्न १० अर्ब ऋण लिनुपर्ने अवस्था

कुलमान घिसिङले छाडेको दिनसम्ममा नेपाल विद्युत प्राधिकरण विभिन्न दायित्व भुक्तानीका लागि १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिनुपर्ने अवस्थामा रहेको खुलेको छ ।

कुलमानकालीन प्राधिकरणको अवस्था चित्रण गर्न तयार पारिएको आर्थिक वर्ष २०८०/८१ सम्मको श्वेतपत्रमा यस्तो तथ्य उल्लेख छ ।

औपचारिक रूपमा सार्वजनिक हुन बाँकी श्वेतपत्रमा नाफाको अभिलेख भए पनि संस्थाले भोगिरहेको विविध आर्थिक चुनौतीहरूको स्पष्ट चित्रण गरिएको छ ।

लोकान्तरलाई प्राप्त श्वेतपत्रको ड्राफ्टअनुसार प्राधिकरणले २०८०/८१ सम्म ४६ अर्ब ४७ करोड रुपैयाँ सञ्चित नाफा गरेको छ । चालु आवको फागुनसम्म मात्र ९ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन भएको देखाइएको छ । तर, कर प्रयोजनका लागि आयकर ऐनअन्तर्गत विगत १२ वर्षको नोक्सानी समायोजन र उच्च ह्रासकट्टी दाबी गर्दा ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानी देखाइएको उल्लेख गरिएको छ ।

त्यस्तै, प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रुपैयाँ छ, जसमा पुनर्मूल्यांकनबाट ९९ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ । निर्माणाधीन आयोजना मात्र २ खर्ब २० अर्ब रुपैयाँ बराबरको रहेको छ ।

कुल इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रुपैयाँ रहेको जनाइएको छ, जसमा सञ्चित नाफा र अन्य जगेडाहरू जोडिएका छन् । सरकारी शेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड रुपैयाँ छ ।

ऋण र दायित्वको भार

श्वेतपत्रले प्राधिकरणको आर्थिक संरचनामा ऋणको उल्लेख्य भूमिका रहेको देखाएको छ । सरकारी ऋण लगानी २ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेको छ, जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत हो ।

यसमा सरकारको आन्तरिक स्रोतबाट ७७ अर्ब ८ करोड र वैदेशिक दातृ निकायबाट सरकारी जमानतसहित १ खर्ब ७१ अर्ब ४ करोड रुपैयाँ ऋण लिइएको छ ।

त्यस्तै, प्राधिकरणले कर्मचारी दायित्व (४७ अर्ब २४ करोड), धरौटी दायित्व (२४ अर्ब ११ करोड) र सरकारलाई तिर्नुपर्ने ब्याज तथा अन्य दायित्व (३२ अर्ब ५ करोड) पनि व्यहोर्नुपरेको छ । टनकपुर आयोजनाको विद्युत् दायित्व मात्र ३ अर्ब रुपैयाँ छ ।

२०८१ फागुनसम्म ११ अर्ब ६१ करोड रुपैयाँ ठेक्कापट्टा भुक्तानी दायित्व बाँकी रहेको पनि उल्लेख छ, जुन अहिलेसम्म भुक्तानी हुन सकेको छैन ।

प्राधिकरणको केन्द्रीय कोष मौज्दात १० अर्ब १० करोड रुपैयाँ रहेको छ । यसमा मुद्दती खातामा ३ अर्ब ६८ करोड, धरौटी खातामा ३ अर्ब ९५ करोड र चालु खातामा २ अर्ब ४७ करोड रुपैयाँ छ ।

मस्यौदाअनुसार प्राधिकरणको कुल बक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । डेडिकेटेड फिडर र ट्रंकलाइन सेवाबाट २३ अर्ब ४४ करोड र नियमित विद्युत् सेवाबाट १२ अर्ब ४९ करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ ।

सरकारी शोधभर्ना शीर्षकमा १४ अर्ब १० करोड रुपैयाँ प्राप्त गर्न बाँकी रहेको छ, जसमा कोभिड राहत तथा चिस्यान केन्द्रको खर्चसमेत समावेश छन् ।

सहायक तथा सम्बद्ध कम्पनीहरूका लागि ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको संस्थागत जमानत रहेको उक्त मस्यौदामा उल्लेख गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि प्रक्षेपित आय १ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ भए पनि स्वीकृत बजेट खर्च २ खर्ब २८ अर्ब ७७ करोड रुपैयाँ पुगेकाले करिब ३० अर्ब घाटा रहने अनुमान गरिएको छ ।

विद्युत् बिक्री र निर्यात अपेक्षाभन्दा कम हुने, साथै २०८१ असोजको बाढीले उत्पादन केन्द्रमा क्षति पुर्‍याएकाले १८ अर्ब रुपैयाँ आम्दानीमा कमी आउने उल्लेख गरिएको छ ।

स्रोत अभाव पूर्ति गर्न १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिनुपर्ने अवस्था रहेको श्वेतपत्रमा खुलाइएको छ ।

श्वेतपत्रले सरकारबाट प्राप्त हुनुपर्ने १४ अर्ब १० करोड रुपैयाँको शोधभर्ना र डेडिकेटेड फिडर/ट्रंकलाइन बक्यौता प्रक्षेपित आयमा समावेश गरिएको भए पनि रातो किताबमा यसबारे उल्लेख नभएको उल्लेख गरेको छ ।

प्रक्षेपित आम्दानी र खर्चबीचको अन्तरले बजेट घाटा देखिएको प्राधिकरणको निष्कर्ष छ ।

salt training

कमेन्ट गर्नुहोस्