आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि सरकारमाथि दबाब सृजना गर्न विपक्षी दलले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको प्रस्तावमा रास्वपालगायतले समर्थन गरेका हुन् ।
नेपाल सरकार र शिक्षक महासंघबीच विगतमा भएका सहमति कार्यान्वयनका लागि दबाब सृजना गर्न प्रस्ताव ल्याइएको पाण्डेले जानकारी दिए । प्रस्तावमा लाखौं विद्यार्थीको पठन पाठन सुचारु गर्न प्रस्ताव ल्याइएको उल्लेख छ ।
प्रतिनिधि सभामा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सभामुखले तोकेको दिनमा छलफल हुने संसद नियमावलीको व्यवस्था छ ।
सरकारसँग विभिन्न माग राख्दै शिक्षकहरू २७ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् ।