
ताप्लेजुङको पाथीभरामा निर्माणाधीन पाथीभरा देवी दर्शन केबलकार परियोजनाको विरोधमा आन्दोलनरत पक्षलाई कम्पनीले वार्ता र संवादमा आउन आह्वान गरेको छ । कम्पनीका सञ्चालक रुद्रराज पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि आह्वान गरेका हुन् ।
हप्ता काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् केबलकारसँग सम्बन्धित स्थानीयवासीका सरोकारका केही विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय संघ/संस्थाले वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएकोमा कम्पनीले त्यसलाई सकारात्मक रूपमा लिएको बताएको छ ।
कम्पनीका अनुसार परियोजनाका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन र अन्य सम्पूर्ण सरकारी प्रक्रिया पूरा भइसकेको छ । नेपाल सरकारबाट भोगाधिकार प्राप्त गरी १०६ रोपनी जग्गा खरिद र सट्टाभर्ना दिइएको र साइट क्लियरिङका लागि रुख कटान कार्यसमेत सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कटान भएका रुखको सट्टामा २५ गुणा वृक्षारोपण गरिने कम्पनीले जनाएको छ ।
‘हामीलाई विश्वास छ वार्ता तथा संवादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ । हामी केबलकार निर्माणमा देखिएका विषयहरूलाई लिएर पहिचानका लागि स्थानीय युवाले वार्ता र संवादका लागि गरेको आग्रहलाई सकारात्मक रूपमा लिन्छौं र यस विषयमा वार्ता तथा संवादमा बस्न तयार छौं’, विज्ञप्तिमा भनिएको छ ।
हालसम्म पहुँचमार्ग निर्माण, विद्युत् लाइन विस्तार, खानेपानी व्यवस्थापन, विस्तृत इन्जिनियरिङ डिजाइन, माटो परीक्षण र तल्लो स्टेसनमा कामदार बस्ने क्याप निर्माणलगायतका काम सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार केबलकारको लम्बाइ २.७५ किलोमिटर हुनेछ।
कम्पनीले निर्माण विरोधमा आन्दोलनरत पक्षले उठाएका तीन प्रमुख मागलाई बुझेको जनाएको छ । तीमध्ये पहिचान र आत्मसम्मानको सुनिश्चितता, आदिवासी जनजातिको धर्म, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने माग छन् ।
कम्पनीले आफूहरू व्यावसायिक कम्पनी भएको र राजनीतिक शक्ति नभएको प्रस्ट पार्दै विकास र पहिचानबीच सन्तुलन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । वार्ता र संवादमार्फत् समस्याको समाधान खोज्न सकिने विश्वास व्यक्त गर्दै कम्पनीले आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन हार्दिक आह्वान गरेको छ।
केबलकार निर्माणले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै स्थानीयको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।