
बर्दियाको बढैयाताल गाउँपालिका–७, बोकटियामा रहेको करिब चार सय वर्ष पुरानो शिवालय मन्दिर संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
मन्दिरभित्र पालि भाषामा लेखिएका अक्षर र ऐतिहासिक साँढेको मूर्ति रहेका छन्। करिब २० वर्षअघि मन्दिरभित्र रहेका शिव, पार्वती र गणेशका मूर्तिहरू हराइसके पनि साँढेको मूर्ति सुरक्षित छ।
समाजसेवी तथा लुम्बिनी प्रदेशसभा पूर्वसदस्य कबिराम थारूको पहलमा प्रदेश सरकारको रु एक करोड लगानीमा विसं २०७९ मा मन्दिर पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो।
पुनःनिर्माणपछि नयाँ मूर्तिहरू स्थापना गरिए पनि प्रचारको अभावमा पर्यटकीय गतिविधि सशक्त बन्न सकेको छैन। बोकटिया गाउँका ज्येष्ठ नागरिकका अनुसार पहिले मन्दिर धार्मिक आस्थाको केन्द्र थियो र शिवरात्रिमा विशेष भजनकिर्तन, पूजापाठ र भण्डारा सञ्चालन हुन्थ्यो।
मन्दिरसँगै रहेको ऐतिहासिक इनारसमेत संरक्षण अभावमा जीर्ण छ। संरक्षण र प्रवर्द्धन गरे पर्यटन विकास र स्थानीय लाभ सम्भव हुने स्थानीय अगुवाको भनाइ छ।