
गगन थापाविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासमा पेशी चढेको छ ।
अधिवक्ता अनन्तराज लुइँटेलसहित ३ जनाले दायर गरेको निवेदन सोमबार सुनुवाइका लागि पेशी चढेको हो ।
वैशाख ११ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक निकायका ५२ जना पदाधिकारीको मुद्दामा मोलतोल गरिएको आरोप लगाएका थिए ।
थापाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा निवेदन दायर भएको हो ।
थापाले अदालतले डिल गरेको, झुलाएर राखेको, हेर्दाहेर्दैमा राखेको, नभ्याइनेमा राखेको जस्ता विषयले अदालतको विश्वसनीयतामा प्रश्न उठाएको टिप्पणी गरेका थिए ।
'आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो, अब त्यसको विश्वसनीयता के रहन्छ ?,’ थापाले भनेका थिए, ‘दुई/तीन वर्षदेखि तलाईं हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ, कहिले भोलि हेर्ने भन्छ, त्यसले अदालतको विश्वसनीयतामा प्रश्न उठाउँछ ।’