
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका अनाथ तथा शहीद परिवारका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।
भजनी नगरपालिका– ५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उनले अल्पसङ्ख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र शहीद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले वहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले अभिभावकविहीन तथा शहीद परिवारका बालबालिकाको शिक्षाको सुनिश्चितताप्रति पार्टी सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताका निम्ति माओवादीले उठाएका सवाल अझै सान्दर्भिक रहेको बताए ।
त्यस अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।