
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन् ।
जनतासँग माओवादी कार्यक्रम अन्तर्गत तराई–मधेश जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका-९ झुँगामा मंगलबार आयोजित खबरदारीसभामा उनले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै नसक्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुन नदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्ने प्रचण्डको जोड छ ।
अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन तथा आवश्यकता अनुसार संशोधन पनि गर्नुपर्ने बताए । देश विकासको जनचाहना पूरा गर्न सरकार पनि इमान्दारीपूर्वक लाग्नुपर्ने उनको सुझाव छ । साथै, उनले जनभावना अनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरे ।