
प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ ।
मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा यही वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईंको ब्यान्ड ‘सुजन चापागाईं एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट प्रस्तुत गरेको छ ।
आर्टमाण्डू प्रालिको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको यथार्थवादी सामाजिक कथानक चलचित्र हो ।
यसका निर्देशक नवीन चौहानले चलचित्रको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए । उनले चलचित्र बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौं जनाको बनेको बताए ।
‘मैले एउटा सिनेमाको संसार बनाउने प्रयास गरेको हुँ । शुरूमा म एक्लैले देखेको सपना अब सयौं जनाको भएको छ’, चौहानले भने ।
चलचित्रमा मुख्य भूमिका निभाएका अभिनेता विपिन कार्कीले पाँचथरको यात्रालाई स्मरण गर्दै सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिए । उनले आर्टमाण्डूका गीतहरू जस्तै यो चलचित्र पनि उत्कृष्ट बनेकोले दर्शकको मन जित्ने कुरामा विश्वास गरे ।
मुख्य अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्याउने प्रयास गरेको बताइन् । उनले यो चलचित्र हेरेपछि आर्टमाण्डूले शुरूआत गरेको चलचित्रको बेग्लै संसारमा पुगिने जनाइन् ।
हेर्नुहोस् ट्रेलर :