
आन्दोलनरत शिक्षकहरुसँगको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् । शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेको वार्ता सुरु भएको केहीबेरमा दुईमन्त्री पनि सहभागी भएका हुन् ।
२८ दिनदेखि आन्दोलनमा रहेका शिक्षक र सरकारबीच मंगलबार राति सिंहदरबारमा ‘निर्णायक वार्ता’ भइरहेको हो।
वार्ताका लागि मन्त्री पन्तले दिनभर शिक्षकहरूलाई कुरेर मन्त्रालयमा बसे पनि महासंघका प्रतिनिधिहरू साँझ मात्र सिंहदरबार छिरेका थिए ।
शिक्षा मन्त्रालय र शिक्षकहरूबीच सोमबार राति पनि अबेरसम्म वार्ता भएको थियो । वार्ता सकारात्मक भएको र आज निष्कर्षमा पुगिने दुवै पक्षले प्रतिक्रिया दिएका थिए ।
मंगलबारको वार्तामा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहित चार जना छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।
शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियान, पठनपाठन, कक्षा १२ को वार्षिक परीक्षा लगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् ।