
मुस्ताङमा पहिलो पटक याकचौरी दिवस, २०८२ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सरकारले हिमाली क्षेत्रमापालन गरिने याकचौरी पालकको मागलाई सम्बोधन गर्दै ७ वैशाखलाई राष्ट्रिय दिवस मनाउने मान्यता दिएसँगै मुस्ताङ पनि नौ दिन ढिलोगरी याकचौरी दिवस मनाउन सुरू गरिएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखोलामा मुस्ताङका याकचौरीपालक किसानको सङ्गठित संस्था हिमालयन चौरीपालन तथा संरक्षण समिति मुस्ताङले सोमबार जिल्लामा पहिलो पटक लोपोन्मुख हिमाली याकचौरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
दिवसलाई भव्यतापूर्वक मनाउन थासाङको घट्टेखोलास्थित याकचौरीको रगत खाने मेलाको सन्दर्भ जोडेर विभिन्न खेलकुद तथा नृत्यलगायत कार्यक्रम समावेश गरी याकचौरी महोत्सव आयोजना गरिएको हिमालयन चौरीपालन तथा संरक्षण समिति मुस्ताङका सचिव सोजन हिराचनले जानकारी दिए । सो क्रममा किसानहरुलाई सम्मान पनि गरिएको थियो ।