
आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ । मंगलबार अबेर रातिसम्म चलेको वार्ता सहमति नजिक पुगेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी दिए ।
शिक्षकसँगको वार्ता छिटो टुङ्गो लगाउन लागिएको उनले बताए । ‘हामी शिक्षकहरूसँग वार्तामा छौं। वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ', उनले भने, 'सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’
शिक्षामन्त्री पन्त र महासंघका पदाधिकारीबीचको वार्ता मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको थियो ।
शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ ।
मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कुरा महासंघका तर्फबाट राखेको र त्यसमा ठोस निर्णय नभइसकेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । उनका अनुसार आज फेरि छलफल गर्ने समझदारी भएको छ। आजै सहमति हुन सक्ने उनको विश्वास थियो ।
मन्त्रालय र शिक्षकबीच सहमति जुटे आजै हस्ताक्षर गर्ने तयारी छ । शुरूमा आन्दोलनरत पक्ष आन्तरिक बैठक बसेर त्यसपछि सरकारसँग वार्तामा बस्नेछ । आन्तरिक बैठकपछि दिउँसो २ बजे सरकार र शिक्षकबीच वार्ता हुनेछ ।
महासंघ सहअध्यक्ष पराजुलीले नौवटा बुँदामा सहमतिनजिक पुगेको बताइन् । वार्ता सकेर बाहिरिने क्रममा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मन्त्रिपरिषद् बैठकबाट सम्बोधन हुन सक्ने बुँदाहरूमा छलफल भएको र बुधबार बेलुकासम्म निष्कर्षमा पुग्ने जानकारी गराइन् । नौ बुँदामा के-के छन् भन्नेचाहिँ उनले खुलाउन चाहिनन् ।
तत्काल सम्बोधन हुने माग मन्त्रिपरिषद्बाट निर्णयगरी अगामी बजेटमार्फत सम्बोधन गरिने र अन्य माग ऐनबाटै सम्बोधन हुनेगरी सहमतिको वातावरण बनेको हो ।
शिक्षक संघ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को शुरूदेखि नै पठनपाठन प्रभावित भएको छ । औपचारिकरूपमा सहमतिमा हस्ताक्षर नभएकाले आज पनि आन्दोलन भने जारी रहने महासंघले जनाएको छ ।
सरकार पक्षसँग लगातार छलफल र संवाद चलिरहे पनि आन्दोलन जारी रहने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले आज पनि शिक्षकहरूलाई बिहान ११ बजे माइतीघरमा भेला हुन शिक्षकहरूलाई आह्वान गेका छन् ।