२८ असार २०८३, आइतबार

कोशी प्रदेश लगानी सम्मेलनमा ७१ योजना 'सोकेश'मा राखिने

बैशाख १७, २०८२
विराटनगर
कोशी प्रदेश लगानी सम्मेलनमा ७१ योजना 'सोकेश'मा राखिने

कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते गर्ने भनेको प्रदेश लगानी सम्मेलनमा ७१ वटा योजना सोकेशमा राखिने भएका छन् । लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसिङ गरिने प्रदेश सरकारले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको हो । 

जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटीलगायत क्षेत्र छन् । लगानी सम्मेलनकै क्रममा दुई दर्जन बढी परियोजनामा भने सम्झौता (एमओयू) नै हुने लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए । 

प्रदेश सरकारले यी परियोजनालाई सफल बनाउन आठवटा कानुन अध्यादेशमार्फत् संशोधन गरेको छ । यसले प्रदेशमा लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने अपेक्षा गरेको कोइरालाको दाबी छ । ‘लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायत देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ,’ कोइरालाले भने, ‘स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी हुनुहुनेछ ।’
लगानी सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ । साथै, पहिलो दिनको मुख्यसत्रका रूपमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरूबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने कोइरालाले जानकारी दिए । 

लगानी सम्मेलनका लागि प्रदेश सरकारले केही नीतिगत प्रतिवद्धतासमेत गरेको छ । जसमा प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलस्रोतसँग सम्बन्धित सम्भाव्य आयोजना वा परियोजनाहरूको सूची तयारगरी तिनको प्राविधिक एवम् आर्थिक अवस्थाको विश्लेषणगरी लगानीकर्ता समक्ष प्रस्तुत गर्ने साथै, संघीय सरकार, स्थानीय तह र लगानीकर्ताहरूबाट प्राप्त आयोजना वा परियोजनाहरूको समेत सम्भाव्यता अध्ययनगरी लगानी आकर्षक गर्न आवश्यक कदम चाल्ने उल्लेख छ । 

यस्तै, आयोजना वा परियोजनाको विकास, संचालन र व्यवस्थापनको लागि प्रदेश सरकारले सम्बन्धित स्थानीय तह र संघीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गर्ने, लगानी कर्ताले लगानी गर्ने आयोजना वा उनीहरूको प्रतिवद्धतालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दा स्थानीय स्तरका बाधा अड्चन हटाउन प्रदेश सरकारले तत्काल पहल गरी निष्कर्षमा पुर्‍याउन आवश्यक कदम चाल्नेलगायत ६ बुँदे नीतिगत प्रतिवद्धता छन् । केही विदेश लगानीसमेत भित्रिने आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्