
नेपाल फोटो पत्रकार सङ्घ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि फोटो यात्रा अभियान शुरू गरेको छ ।
हरेक गन्तव्यको प्रवर्द्धनका लागि फोटोको विशिष्ट महत्त्व हुने कुरालाई दृष्टिगत गर्दै फोटो यात्रा अभियान शुरू गरिएको नेपाल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए ।
अभियान स्वरूप थालिएको फोटो यात्राका क्रममा सङ्घले होटल बाराही ग्रुपको सहयोगमा चितवनको मेघौली र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ को सहयोगमा उक्त वडाको आर्वास्थित महाप्रभुधामलाई समेटिसकेको उनले बताए ।
अभियानलाई व्यवस्थित एवं दीर्घकालीन रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ संघले अक्षयकोष स्थापना गरी यसलाई विस्तार गर्ने योजनासमेत अघि बढाएको छ ।
अध्यक्ष गुरुङ र सदस्य सञ्जय शाक्यले जनही रु १०/१० हजार जम्मा गरी सुरु गरिएको अक्षय कोषको विस्तारका लागि सम्बद्ध सबैसँग आह्वानसमेत गरिएको छ ।
यस अभियानका माध्यमबाट देशका विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याउने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए ।