
वैदेशिक रोजगारीका नाममा लाखौं रूपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने बहानामा झुक्याउँदै लामो समयसम्म सम्पर्कविहीन भएका उनीहरूविरुद्ध पीडितले जाहेरी दिएका थिए ।
पीडितको जाहेरीपछि उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी रहेका छन् । उनले युके पठाइदिन्छु भनी एक जना व्यक्तिसँग ३५ लाख रूपैयाँ लिएका थिए । केसी वैशाख मंगलबार ललितपुरबाट पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसैगरी, काभ्रेको पाँचखाल नगरपालिका–३ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–३ मा बसोबास गर्ने २९ वर्षीय सुजन गिरी बुधबार काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ परेका छन् । उनले यूके पठाइदिन्छु भन्दै एक जना पीडितबाट २६ लाख ६५ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, ५८ वर्षीय सिरबहादुर बराल पनि ठगीको आरोपमा पक्राउ परेका छन् । पाल्पाको रम्भा गाउँपालिका–५ स्थायी घर भई काठमाडौं महानगरपालिका–३ मा बसोबास गर्दै आएका बरालले दक्षिण कोरिया पठाउने भन्दै एक जनाबाट सात लाख पचास हजार रूपैयाँ लिएका थिए । उनलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरिएको हो ।
यस्तै, काठमाडौंको तार्केश्वर नगरपालिका–४ की ३३ वर्षीया सरस्वती देवकोटा पनि वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेकी छन् । उनले यूएई पठाइदिने भन्दै दुई जना पीडितबाट एक लाख रूपैयाँ असुलेकी थिइन् । उनलाई पनि बुधबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।