
काश्मिरको पहलगाममा नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना हिन्दु पर्यटकको हत्या भएको विरोधमा बुधवार पनि काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको महाराजगञ्जमा युवाहरूले सुदीप न्यौपानेलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले आतंकवादको पैसा चाहिँदैन भन्दै नाराबाजी गरेका थिए । उनीहरूले ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट’ (एचएचआरडी)विरुद्ध समेत नाराबाजी गरेका छन् ।
अमेरिकी सहयोग नियोग युएसएडको पैसा ल्याएर आतंकवादी गतिविधिमा लगाएको आरोप लगाउँदै प्रदर्शनकारीले एचएचआरडीविरुद्ध नाराबाजी गरेका हुन् ।

अमेरिकी संसदको विदेश मामिला समितिले सन् २०२३ मा अन्तराष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सीलाई पत्र लेख्दै युएसएडको रकम एचएचआरडी मार्फत दुरूपयोग भएको र त्यसको बढी लाभ आतंकवादीले लिएको दावी गरेको थियो ।

प्रदर्शनकारीले हाफिज मो. सईदविरुद्ध समेत नाराबाजी गरेका थिए । काश्मिरमा भएको आतंकवादी हमलाको नेपालको संसदमा समेत विरोध भएको थियो ।