११ साउन २०८३, सोमबार

सरकारले सञ्चालनमा ल्यायो 'श्रम संसार' पोर्टल, रोजगारदाता र कामदारले सोझै सम्पर्क गर्न सक्ने

बैशाख १८, २०८२
काठमाडौं
सरकारले सञ्चालनमा ल्यायो 'श्रम संसार' पोर्टल, रोजगारदाता र कामदारले सोझै सम्पर्क गर्न सक्ने

सरकारले 'श्रम संसार' पोर्टल सञ्चालनमा लयाएको छ । सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधिमार्फत् सोझै सम्पर्क गर्नेगरी श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको हो । 

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पोर्टल उद्घाटन गरेका हुन् ।

पोर्टलले सरकार, निजी क्षेत्र र जनतालाई जोड्ने पुलको काम गर्ने प्रधानमन्त्री ओलीले बताए।

रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने उनले बताए । एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई यसले समाधान गर्ने उनको विश्वास छ ।

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताए । 'श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई जनताका घरदैलोमा पुर्‍याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रमसंसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्छ,' प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र ‘डिजिटल’ अर्थतन्त्रको निर्माण, प्रविधिको प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य हासिल गर्न र सबै नेपालीलाई सरल तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्वपूर्ण भूमिका हुने बताए । 
 
सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी कामअघि बढाएको प्रधानमन्त्री ओलीले बताए ।

सरकारले आगामी दशकलाई आन्तरिक सेवा प्रवद्र्धन दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी हुन प्रधानमन्त्री ओलीले आह्वान गरे।

salt training

कमेन्ट गर्नुहोस्