२५ जेठ २०८३, सोमबार
सरसर्ती २४ घण्टा

भारतीय विश्वविद्यालयमा अर्की नेपाली छात्राको मृत्युदेखि गठबन्धनका गतिविधिमा गगन थापा निष्क्रियसम्म

बैशाख १९, २०८२
काठमाडौं
भारतीय विश्वविद्यालयमा अर्की नेपाली छात्राको मृत्युदेखि गठबन्धनका गतिविधिमा गगन थापा निष्क्रियसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

भारतको ओडिसा राज्यमा अवस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी छन्। 

घटनापछि सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री आरजु राणा देउवाले गहिरो समवेदना प्रकट गर्दै फेसबुकमा लेखेकी छन्, ‘प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

उनले मन्त्रालयले भारत सरकार, ओडिसा राज्य सरकारका उच्च अधिकारीहरूसँग समन्वय गर्दै घटनाको सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल सुरु भएको बताइन् । मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत समेत आवश्यक कानुनी प्रक्रिया र अनुसन्धानका लागि समन्वय भइरहेको जनाएको छ। साह बिहीबार मृत फेला परेकी थिइन् । 

००००

यसैबीच किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्युको घटनापछि राज्य सरकारले छानबिन थालेको छ।

कम्प्युटर साइन्स विषयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत साहले आत्महत्या गरेको आशंकासहितको सूचना बिहीबार साँझ ८ः१० बजे स्थानीय प्रहरीले दिएसँगै छानबिन थालिएको राज्य सरकारको भनाइ छ ।

००००

सोही घटनामा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ओडिशाले विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग गरेको छ । एबीभीपी भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन हो । सोही विश्वविद्यालयमा केही महिनाअघि नेपाली छात्रा प्रकृति लम्सालको पनि मृत्यु भएको थियो । 

००००

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न चौथाइवाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

००००

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा २ हजार ६४३ जना डेलिगेट्सको टुंगो लागेको छ । 

निर्वाचन समितिका अनुसार जम्मा २ हजार ६४३ जना डेलिगेट्स मध्ये हालसम्म ६२५ जनाले मात्र तोकिएको कागजात बुझाइसकेका छन्। बाँकी रहेका डेलिगेट्सलाई शुक्रबार साँझ आवश्यक प्रमाण र दस्तुर सहित निर्वाचन समितिमा सम्पर्क गर्न आग्रह गरिएको उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले जानकारी दिए ।

००००

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो ।

००००

केही समय अघिसम्म सत्ता गठबन्धनका गतिविधिमा सक्रिय रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा एकाएक निष्क्रिय हुन थालेका छन् । 

कांग्रेस समेत सत्ता साझेदार रहेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन केही अगाडिसम्म सबै प्रयत्न लगाएका थापा अहिले चुपचाप देखिन्छन् । 

सरकारलाई प्रभावकारी बनाउन कांग्रेस र एमालेले बनाएको उच्चस्तरीय संयन्त्रमा थापा कांग्रेसबाट सदस्य थिए । संयन्त्रलाई अझै साँघुरो गरेर बनाइएको कार्यदलमा थापा र एमालेबाट महासचिव शंकर पोखरेल सहभागी थिए । चीनसँग गरिएको बीआरआई सम्झौता, सरकारका कामलाई सहज बनाउन ल्याइएका विधेयक र अन्य काममा गगनले खटेरै भूमिका खेलेका थिए ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन विवादास्पद कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएयता थापा सरकारको कामगराइसँग असन्तुष्ट बन्दै आएका हुन् ।

००००

सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार राति भएको ९ बुँदे सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ ।

बुधबार शिक्षा मन्त्रालयमा भएको ९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि २९ दिनदेखि जारी शिक्षक आन्दोलन स्थगित भएको थियो । तर, विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षकमा पनि स्थायीको मात्र माग सम्बोधन भएको बताए ।

००००

नेकपा एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता संख्या सात लाख ५० हजार र्पुयाउने जनाएको छ ।

एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षका रूपमा लिएको जनाउँदै संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कूल मतदाताको ६ प्रतिशत र्पुयाउने लक्ष्य लिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्