
नेपाल–भारत आदिवासी जनजाति मैत्री संघले काश्मिरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलाको विरोधमा शुक्रबार पाकिस्तानी दूतावासमा ज्ञापनपत्र बुझाएको छ ।
संघले महाराजगञ्ज चुनदेवीमा रहेको पाकिस्तानको दूतावासमा जुलुससहित गएर ज्ञापनपत्र बुझाएको हो ।
घुम्न गएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोध गर्दै पाकिस्तानी दूतावासका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाइएको संघका अध्यक्ष विनोदकुमार गुरुङले जानकारी दिए । पहलगाम हत्याकाण्डको विरोधमा दैनिक जसो पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन भएको छ ।
अध्यक्ष गुरुङले भारत घुम्न गएका नेपालीहरू असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताए । डा. बुद्धिबहादुर गुरुङलगायत पनि विरोध र्यालीमा सहभागी थिए ।
गत वैशाख ९ गते पहलगाममा भएको आतंकवादी हमलामा १ नेपाली सहित २६ जना हिन्दूको हत्या गरिएको थियो । पहलगाम घटनामा पाकिस्तानको संलग्नता रहेको भारतले बताउँदै आएको छ ।