३२ असार २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

हंगामा हुने जान्दाजाँदै लेखेका थिए माहिमानले पत्र, प्राधिकरणको नाफा ‘फेक’

बैशाख २०, २०८२
काठमाडौं
हंगामा हुने जान्दाजाँदै लेखेका थिए माहिमानले पत्र, प्राधिकरणको नाफा ‘फेक’

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेका हुन् ।  

सरकारको नीति तथा कार्यक्रम ५६ पेज लामो छ भने १५५ बुँदामा समेटिएको छ । सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरवबोध गराउन, सरकारप्रति जनताको विश्वास जगाउँदै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ रहेको उल्लेख गरे । 

राष्ट्रपति पौडेलले अराजकता फैलाउने विरुद्ध सरकार दृढ रहेको भन्दै गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने स्पष्ट पारे । उनले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने उल्लेख गर्दै यसका लागि आपसी समझदारीसहित संविधानमा रहेका कमी कमजोरी सच्याइने बताए ।

००००

‘मलाई कानूनले तोकेको सजाय दिनुस्, तयार छु । तर, भाला रोपी–रोपी मारिएका बालबच्चालाई कसले दिन्छ न्याय ?,’ सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले प्रहरीसँगको बयानको शुरूमै भने ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका विष्टसँग सामान्य सोधपुछ थाल्दै गर्दा विष्टले यसो भनेका हुन् । उनले सर्वोच्च अदालतको लेटरप्याड र छाप प्रयोग गरी आफैं पत्र लेखेर नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ र कारागार चलान गराए । यही प्रकरणलाई लिएर सर्वोच्चले विष्टमाथि प्रचलित कानूनअनुसार कारबाही गर्न प्रहरीको जिम्मा लगाएको थियो । 

विगत १५ वर्षदेखि परिवारसँगै भक्तपुरको ठिमीमा बस्दै आएका विष्ट कैलालीको टीकापुर नरसंहारका बेला जिल्ला अदालत कञ्चनपुरमा कार्यरत थिए ।

उनले त्यो घटनालाई आफूले नजिकबाट नियालेको र त्यहाँ क्रुरतापूर्वक भाला रोपेर बालबालिका मारिएको दृश्य आफ्नो मानसपटलमा अझै घुमिरहेको बताएका छन् ।

‘सर्वश्वसहित जन्मकैद तोकिएको अपराधीलाई पनि आममाफी हुन्छ ?,’ विष्टले प्रहरीसँग उल्टै प्रश्न गरेका छन् । श्रीमतीसँग समेत आफूले टीकापुर घटनाका पीडितलाई जसरी पनि न्याय दिलाएरै छाड्ने बताउने गरेको उनको बयान छ ।

‘जुन दिन टीकापुर घटना भयो, त्यसपछि म राम्रोसँग सुत्न पाएको छैन । दिमागमा अनेक कुरा खेलिरहेका छन्,’ विष्टको प्रारम्भिक बयान उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘यस्तो क्रूर हत्याका नाइकेलाई पनि आममाफी दिन मिल्छ ?’ 

उनले टीकापुर घटना अझै पनि आफ्नो मानसपटलमा घुमिरहेकाले चौधरीलाई थुनामा पठाउने उद्देश्यले पत्र लेखेर प्रहरी र कारागारमा आफैं पुगेको बताएका छन् । पत्र लेखेर शुरूमा डिल्लीबजार कारागार पुगेका विष्टले प्रहरी प्रधान कार्यालयमा समेत पत्र फरवार्ड गरेका थिए । उनले हंगामा हुने जान्दाजान्दै पत्र लेखेको बताएका छन् ।

००००

कोशी प्रदेश लगानी सम्मेलनमा ४६ वटा परियोजनामा हस्ताक्षर भएको छ । ४६ वटा परियोजनामा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको प्रदेश सरकारले जनाएको छ ।

लगानी सम्मेलनमा कोदोको रक्सी बनाउने उद्योगदेखि व्यावसायिक कृषि फार्म, कृषिमा आधारित उद्योगहरू, बेसार प्रशोधन, छुर्पी उत्पादनदेखि कफी उत्पादनसम्म, जैविक मल उत्पादनदेखि एग्रो टुरिजम र पर्यटनतर्फ बर्जुताल पर्यटकीय क्षेत्र विकाससम्मका परियोजनाका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता भएको मुख्यमन्त्री हिकमतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

००००

नेपाल विद्युत् प्राधिकरणले एक श्वेतपत्र जारी गर्दै प्राधिकरणको वित्तीय, प्राविधिक र व्यवस्थापकीय अवस्था प्रष्ट पारेको छ । प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका रूपमा पद सम्हालेका हितेन्द्रदेव शाक्यले शुक्रबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्रमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा प्राधिकरणले हासिल गरेको भनिएको आर्थिक प्रगतिमा गम्भीर प्रश्नहरू उठाइएको छ ।

श्वेतपत्रले प्राधिकरणको वित्तीय विवरणमा गम्भीर त्रुटिहरू, सम्पत्ति व्यवस्थापनमा कमजोरी र बक्यौता रकमको अनिश्चितताको खुलासा गरेको छ ।

श्वेतपत्रमा घिसिङको नेतृत्वमा प्राधिकरणले कृत्रिम नाफा देखाएको उल्लेख छ भने तत्कालको आर्थिक संकट टार्न प्राधिकरणले १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिनुपर्ने अवस्था रहेको जनाइएको छ ।

००००

भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्राको निधनप्रति भारत सरकारले शोक व्यक्त गरेको छ । 

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे जानकारी प्राप्त भएदेखि नै ओडिशा राज्य सरकारसँग समन्वय गरिरहेको जनाएको छ ।

००००

प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।

बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलताजस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक र नीति निर्मातालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ।

००००

सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा पूर्वाधार विकासका क्षेत्रमा महत्वाकांक्षी लक्ष्य हासिल गर्ने योजनासहित लगानी बोर्ड नेपालको ‘रणनीति तथा व्यावसायिक योजना २०८१–८६’ स्वीकृत भएको छ ।

गत आइतबार बसेको लगानी बोर्ड नेपालको बैठकले उक्त योजना स्वीकृत गरेको हो । बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आगामी चार वर्षभित्रमा विभिन्न परियोजनामा गरिसक्नुपर्ने कामको योजना र रणनीति तयार पारिएको हो । 

००००

विद्यालय कर्मचारीले नयाँ आन्दोलनको घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्‌ले शुक्रबार चरणवद्ध आन्दोलन घोषणा गरेको हो । 

परिषद्‌ले बब्बनकुमार मिश्रलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकेको छ । 

यसअघि एक महिना लामो आन्दोलनमा विद्यालय शिक्षक कर्मचारी पनि सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्