
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकता दिएकाले खुलेर समर्थन गर्न निर्देशन दिएका छन् ।
शनिबार बसेको एमाले संसदीय दलको बैठकमा उनले नीति तथा कार्यक्रम सही भएकाले ढुक्क भएर समर्थन गर्न निर्देशन दिएका हुन् । सत्य–असत्य जे भए पनि विपक्षी दल विरोधमै लाग्ने उनको आरोप छ ।
ओलीले संसद्मा बोलेका गलत भनाइहरू पनि रेकर्डमै रहनुपर्ने धारणा राख्दै सांसदहरूलाई तयारीसहित स्पष्ट र तथ्यमा आधारित रूपमा बोल्न आग्रह गरे । ‘बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ, स्पष्ट होस्,’ उनले भने ।
संसद्मा बुँदा बनाएर जान र त्यसको व्याख्या गर्न सजिलो हुने भएकाले सोही विधि अपनाउन पनि ओलीले सांसदहरूलाई सुझाव दिए ।