३१ जेठ २०८३, आइतबार

बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाइ द बुक’ सार्वजनिक

बैशाख २०, २०८२
काठमाडौं
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाइ द बुक’ सार्वजनिक

हवाई उद्यमी एवं बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाइ द बुक’ सार्वजनिक भएको छ ।

स्थापनाको झण्डै २८ वर्षको अवधिमा बुद्ध एयरले हासिल गरेका सफलता र व्यवस्थापकीय पाटोका विभिन्न आयामलाई पुस्तकमा समावेश गरिएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कर्मचारी सञ्चय कोषका तत्कालीन प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर जबराले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

त्यस अवसरमा तत्कालीन प्रमुख प्रशासक श्रेष्ठले सफल व्यवस्थापन र गुणस्तरीय सेवाको नमुना संस्थाका रूपमा स्थापित बुद्ध एयर सबैका लागि प्रेरणादायी भएको बताए । हाल देशकै अग्रणी हवाई कम्पनीका रूपमा स्थापित बुद्ध एयरको शुरूआती सञ्चालनमा वित्तीय स्रोतको भूमिका निर्वाह गर्ने अवसर पाउनु आफ्ना लागि पनि महत्वपूर्ण अवसर भएको उनले उल्लेख गरे । 

हिमालयन बैंकका सीईओ जबराले हवाई उद्योगको नमुना संस्थाका रूपमा रहेको बुद्ध एयरसँग आर्थिक साझेदारी गर्न पाउनु आफ्ना लागि पनि गौरवको विषय भएको बताए ।

लेखक बस्नेतले नयाँ आउने उद्यमीलाई केही सिक्ने अवसर मिलोस् भनेर पुस्तक लेखेको बताए । 'यो पुस्तकको अर्थ नियमसङ्गत हो । बुद्ध एयर शुरूआत गर्दाको सपना र सोचलाई पुस्तकमा समेटिएको छ,' उनले भने, 'हवाई उद्योग असाध्यै जोखिमपूर्ण उद्योग हो, विभिन्न बाधा व्यवधान र कठिनाइ आउँछन् तिनलाई कत्ति पनि हरेस नखाई कसरी समाधान र व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पुस्तकमा उल्लेख छ ।' 

बस्नेतले आमनेपाली उद्योग व्यवसाय र व्यवस्थापनमा लागेकाहरूका लागि पुस्तक केही सिक्ने सन्दर्भ सामग्रीका रूपमा हुने विश्वास व्यक्त गरे । 'पुस्तकमा बुद्ध एयरको संस्थागत सोच र सपना, सङ्घर्ष र सफलता, सूत्र र सिद्धान्त समेटिएका छन् । देशमा केही भएन र हुँदैन भन्नेहरूका लागि बाइ द बुकले केही आशाको सञ्चार गराउने छ र अस्तित्वको आत्मबोध गराउने छ । एउटा संस्थाको कुशल व्यवस्थापन र सफल व्यक्तिको जिम्मेवारी र उसको सफल नेतृत्वदायी भूमिकाका बारेमा पुस्तकले बोलेको छ', उनले भने । 

सन् १९९७ मा ४ जनाबाट शुरू भएको बुद्ध एयरमा हाल एक हजार ५०० भन्दा बढीले रोजगारी पाएको छन् । बीचक्राफ्ट १९०० डी र सी जहाजबाट सेवा शुरू गरेको बुद्ध एयरले एटीआर–४२ हुँदै हाल एटिआर–७२ जहाजमार्फत सेवा दिइरहेको छ ।

बुद्ध एयरसँग हाल १८ थान एटीआर जहाज रहेका र देशका ४० भन्दा बढी हवाई गन्तव्यमा उडान गरी हालसम्म दुई करोडभन्दा बढीलाई हवाई सेवा दिइसकेको त्यस अवसरमा जानकारी दिइयो । 

salt training

कमेन्ट गर्नुहोस्