
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले धार्मिक स्वतन्त्रताका लागि पनि लोकतान्त्रिक शासन व्यवस्था अपरिहार्य रहेको बताएका छन् ।
आज काठमाडौँ घट्टेकुलोमा महाप्रज्ञा आश्रम (विहार) को समुद्घाटन कार्यक्रममा उनले जनता सार्वभौमसत्ता सम्पन्न भएपछि आफूलाई मन परेको धर्म मान्ने स्वतन्त्रता सुरक्षित भएको बताए ।
यहाँ विसं २०३० मा बनेको विहार बागमती प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण भएको हो । नेपालका प्रथम थेरवाद भिक्षु महाप्रज्ञाले सो विहार स्थापना गरेका थिए ।
महाप्रज्ञा बुद्ध धर्म प्रचार गरेबापत दुई पटक देश निकाला भएका सन्दर्भमा चर्चा गर्दै उपप्रधानमन्त्री सिंहले हाल त्यस्तो अवस्था नरहेको र सबैले आफ्नो इच्छाअनुसार धर्म मान्ने स्वतन्त्र रहेको बताए ।
हाल समाजमा नकारात्मकता बढिरहेको भन्दै उपप्रधानमन्त्री सिंहले मानिसमा सत्यतथ्य छुट्याउनसक्ने जन्मजात क्षमता रहेको भन्दै विवेकको प्रयोग गरेर सही गलत छुट्याउन आग्रह गरे ।