
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधव चम्लागाईंले अपाङ्गता भएका व्यक्तिको अनिवार्य राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधनको माग गरेका छन् ।
संघको १७औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले संविधान संशोधन गरेर भए पनि अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।
उनले अपाङ्गता भएका व्यक्तिको संघर्ष, जनआन्दोलनमा भूमिका र सामाजिक रुपान्तरणमा योगदान स्मरण गर्दै अबको प्राथमिकता रोजगारी, सीप, डिजिटल पहुँच, सहायक उपकरणको पहुँच र अपाङ्गमैत्री पूर्वाधार निर्माण रहेको बताए ।
गम्भीर अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सुरु गर्नुपर्ने र अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्ने उनले जोड दिए ।
संघ संगठित र रणनीतिपूर्ण ढंगले अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको अध्यक्ष चम्लागाईंको भनाइ छ।