
अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बल नेपालले भारतसँगको सीमा नाकामा सकृयता बढाएको छ । त्यसको लागि २४सै घण्टा सीमा गस्ती गर्ने र सीमाना भएर आवतजावत गर्नेहरुको अभिलेखीकरण गर्ने कार्यसमेत कडाईको साथ गरिहरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा हुनसक्ने अवैध आवतजावतलाई रोक्नको लागि सीमा इलाकाका स्थानीय निकायका प्रमुखहरुसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने कार्यलाई समेत तिव्रता दिइएको छ । यसका साथै सीमामा आवतजावत गर्नेसँग आवश्यकता अनुसार कागजपत्र जाँच गर्ने र सोधपुछ गर्ने कार्यसमेत कडाईका साथ गरिएको छ ।
यसैगरी हालै बाहिनीपतिको जिम्मेवारी प्राप्त गरेका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा उच्च निगरानी बढाउन र सीमा क्षेत्र नियमनको लागि थप योजनाका साथ परिचालन हुन निर्देशन दिएका थिए । सोही अनुसार सीमा जोडिएका बाहिनी मुख्यालयहरुले समेत यसलाई उच्च प्राथमिकतामा राखी सवै जिल्लाहरुमा सुक्ष्म रुपमा खबर संकलन तथा अप्रेशनल कार्यसमेत गरिरहेका छन् ।
सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा निगरानीको लागि झापाको काकडभिट्टा, पर्साको वीरगंज र रुपन्देहीको बेलहिया नाकामा डग स्क्वाड समेत परिचालन गरेर जाँच गर्ने गरेको छ । यसै गरि बिगत देखिनै कोशी , मधेस , लुम्बिनी र सुदुर पश्चिम प्रदेशको सीमाक्षेत्रमा २४ सै घन्टा रहने गरि सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा संचालित लामो दुरिको पट्रोललाई निरन्तरता दिइएको छ ।
भारतीय समकक्षीसँगको बाहिनी मुख्यालय, गण, गुल्म र बीओपीस्तरको बैठकमा समेत तेस्रो मुलुकका नागरिकहरुको अवैध आवतजावतलाई रोक्ने बिषय मुख्य एजेण्डाको रुपमा रहेकोले सोही बमोजिम समन्वय गरी निगरानी बढाइएको हो ।